उत्तरी गोरखाका स्थानीयलाई चामल खरिदका लागि अझै कम्तिमा एक दिन हिँड्नुपर्ने बाध्यता

  ०८० वैशाख २७ गते

चुम्लीङ र नामरुङमा खाद्यको बिक्रि केन्द्र स्थापना भएपनि स्थानीयलाई चामल खरिदका लागि अझै कम्तिमा एक दिन हिँड्नुपर्ने बाध्यता रहेको छ ।

खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले उत्तरी गोरखामा दुइ ओटा बिक्रि केन्द्र थप गरेको छ । चुमनुव्री गाउँपालिका–४ नामरुङ र वडा नम्वर ६ को चुम्लीङमा बिक्रि केन्द्र स्थापना गरिएको हो । स्थानीयलाई पायक पर्ने गरि थपिएको नामरुङको बिक्री केन्द्रबाट पनि सिमा क्षेत्र अन्तरगत सामागाउँ पुग्न डेड दिन र चुम्लीङको बिक्रि केन्द्रबाट अर्को सिमा क्षेत्रको छेकम्पार पुग्न एक दिन पैदल हिँड्नुपर्छ ।

‘पहिले भन्दा केहि नजिक त भयो, तर पनि चुम्लीङ पुगेर चामल ल्याउन एक दिन पुरै हिँड्नुपर्छ,’– छेकम्पारका छिरिङ फुर्वाले भन्नुभयो । यस अघि उत्तरी क्षेत्रका स्थानीयले गाउँपालिकाको केन्द्र फिलिममा रहेको खाद्यको डिपोबाट चामल ढुवानी गर्थे । सामागाउँबाट फिलिम पुग्न तिन दिन र छेकम्पारबाट दुइ दिनको पैदल यात्रा गर्नुपथ्र्यो ।

अहिले नामरुङमा स्थापना भएको बिक्रि केन्द्रबाट वडा नम्बर १, २, ४ र ५ तथा चुम्लीङको बिक्रि केन्द्रबाट ६ र ७ नम्बर वडाका स्थानीयलाई सजिलो पर्नेछ । तर छरिएर रहेका बस्ती भएकाले बिक्रि केन्द्रमा पुगेर एक बोरा चामल ल्याउन पुरै एक दिन खर्चनुपर्ने बाध्यता रहेको चुम्चेतका नेवाङ लामाले बताउनुभयो । ‘एउटै वडामा हो, तरपनि बलिया र भर्खरकालाई पनि चुम्चेत गाउँ उकालो उक्लन कम्तीमा तिन घण्टा लाग्छ, आउन जादा गर्दा एक दिन त तैसै लाग्ने भयो,’ उहाले भन्नुभयो ।

वैशाख ३ गते आपूर्ती मन्त्रालय र कम्पनीको बोर्ड बैठकले बिक्री केन्द्र राख्ने निर्णय गरेको थियो । बिक्रि केन्द्रका लागि पाँच÷पाँच सय क्वीन्टल चामलको कोटा पनि स्वीकृत भएको कम्पनी गोरखाका सूचना अधिकारी शिव सुनारले बताउनुभयो । बिक्रि केन्द्र स्थापना भएपछि ढुवानी भाडामा सहुलियत हुने उहाँले बताउनुभयो ।

बिक्रि केन्द्रले स्थानीयलाई पहिले भन्दा धेरै सजिलो बनाएको कम्पनीको दावी छ । धान खेती नहुने उत्तरी गोरखाका स्थानीय बजारको चामल खरिद गरि उपभोग गर्ने गर्छन् । स्थानीयको सजिलोका लागि स्थापना भएको खाद्यको डिपो र बिक्रि केन्द्र पुग्नै एक दिन खर्चनुपर्ने बाध्यतबाट भने यहाँका स्थानीयले अझै मुक्ती पाएका छैनन ।

grokha khadhyannachamal lane tayari ma yuwa


हरिराम उप्रेती