उत्तरी गोरखाका लागि पठाइएको खाद्यान्न पाँच महिनादेखि बिच बाटोमै अलपत्र

उत्तरी गोरखाका स्थानीयका लागि पठाइएको चामल आरुघाटमा अलपत्र परेको पाइएको छ । पाँच महिनादेखि खाद्यान्न ढुवानी नहुँदा चामल कुहिन थालेको स्थानीयहरूले बताएका छन् ।

दसैँमा खाद्य व्यवस्था समितिले सिर्दिवास, उहिया, केरौँजा, काशिगाउँ, गुम्दाका स्थानीयका लागि  पठाएको चामल बिच बाटोमै अलपत्र परेको हो । पाँच महिना अघि ४ सय क्वीन्टल चामल आरुघाट झारिएकोमा १ सय ४९ क्वीन्टल हेलिकप्टरबाट सिर्दिवास र उहिया पुर्‍याइएको थियो । चामल आरुघाटमै अलपत्र भएपछि खाद्य व्यवस्था समितिले १ सय २० क्वीन्टल चामल केही समय अघि केरौँजा पुर्‍याइएको थियो । बाँकी १ सय ३१ क्वीन्टल चामल अहिलेसम्म ढुवानी नभएको खाद्य संस्थानका शाखा प्रमुख टेकप्रसाद रेग्मीले बताए ।

लामो समयसम्म आरुघाटका धनकुमार गुरुङको घरमा स्टोर गरेर राखेको चामल कुहिन थालेको छ । त्रिपाल ओछ्याएर राखिएको चमल कुहिन थालेको चामल स्टोर गरेको घरका घरधनी गुरुङले जानकारी दिएका छन् । समयमै ढुवानी नहुँदा केही चामल खेर जाने निश्चित भएको छ । 'कुहिएको चामल वितरण गर्दैनौँ ।'-खाद्य संस्थानका डिपो प्रमुख रेग्मीले भने ।

ढुवानी खर्च सरकारले व्यहोर्ने हुँदा नकुहिएको चामल ३१ रुपियाँ प्रति केजिका दरले वितरण गर्ने खाद्य संस्थाले जनाएको छ । प्रमुख जिल्ला अधिकारी तथा खाद्य व्यवस्था समितिका संयोजक जितेन्द्र बस्नेतले भने अलपत्र परेको चामल ढुवानी गर्ने विषयमा वैठक बसेर टुङ्गोमा पुगिने बताए । 'छिट्ट वैठक वसेर यसबारे निर्णय गर्छौँ ।'-प्रजिअ बस्नेतले भने ।

उत्तरी गोरखामा खाद्य संस्थानको डिपोमार्फ खाद्यान्न ढुवानी गरिँदै आएको छ । ०७२ वैशाख १२ गतेको भूकम्पले मनास्लु पदमार्गको ठाउँ/ठाउँमा पहिरो आएकाले हेलिकप्टरमार्फ खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्री ढुवानी हुँदै आएको छ । बाटो बिग्रँदा खच्चडबाट कहिले काँही मात्र उपभोग्य सामग्री ढुवानी हुने गर्छ ।


हरिराम उप्रेती