उच्च अदालतद्वारा कारण देखाउ आदेश

पुन मतगणनाको माग राखी परेको रिट निवेदन उपर उच्च अदालत सुर्खेतले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

उच्च अदालतका मुख्य न्यायाधीश डम्मरबहादुर शाहीको एकल इजलासले जेठ १८ गते विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको रजिष्ट्रार जितेन्द्र थपलियाले जानकारी दिए ।

भेरीगङ्गा नपा-१० का एमालेका वडाध्यक्ष उम्मेदवार धनबहादुर कामीले आफू दुई मतले पराजित भएको भन्दै पुनः मतगणना हुनुपर्ने माग राखी जेठ १४ गते रिट दायर गरेका थिए । उनले काङ्गे्रसका तर्फबाट वडाध्यक्षका निर्वाचित उम्मेदवार मानबहादुर बुढामगर, निर्वाचन अधिकृत जङ्गबहादुर डाँगीलाई विपक्षी बनाएका छन् ।

वैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनमा रिट निवेदक कामीले ७ सय २४ र बुढामगरले ७ सय २६ मत प्राप्त गरेका थिए ।

यसैगरी दैलेखको गुँरास गाउँपालिका-४ की खुला महिला सदस्यकी उम्मेदवार हरिमाया सारुले जेठ १५ गते उच्च अदालत सुर्खेतमा रिट निवेदन दायर गरेकी छन् । उनी काङ्ग्रेसकी उम्मेदवार हुन् । उनले एमालेबाट निर्वाचित उम्मेदवार चन्द्र विष्ट र निर्वाचन अधिकृत मेघनाथ उपाध्ययलाई विपक्षी बनाएकी छन् । हरिमायासँग चन्द्रा एक मत अन्तरले विजयी भएकी हुन् ।


दुर्गा थापा