इशनाथ नगरपालिका परिसरमा बम

इशनाथ नगरपालिकाको कार्यालय परिसरमा अज्ञात पक्षले झोलामा राखेको प्रेसरकुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ ।

पुस ९ गते बिहान कार्यालय परिसरमा झोलामा प्रेसरकुकर, तार तथा मोबाइल समेत जडान गरी राखेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

झोलामा रहेको सो बस्तु बम हुन सक्ने आशंकामा प्रहरीले मोबाइल नेटवर्क बन्द गर्न लगाएको थियो । प्रेसरकुकरमा मोबाइल जोडिएको देखिएकोले नेपाली सेनाले निस्क्रिय बनाउने तयारी गरेपछि प्रहरीले टेलिकमलाई मोबाइल नेटवर्क बन्द गर्न लगाएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नविन कार्कीले बताउनुभयो ।

नेपाली सेनाको इन्द्रबक्स गणबाट खटिएको बम डिस्पोजल टोलीले निस्क्रिय बनाएपछि मोबाइल सेवा सुचारु भएको छ ।

प्रेसर कुकरमा टेप लगाएर तार र मोबाइल समेत जोडिएको बस्तु देखेपछि स्थानीय त्रसित बनेका थिए । करिब दुई घण्टाको प्रयासपछि सो बमलाई निस्क्रिय गरिएको थियो ।


कोपिला तिमल्सिना