इलाम क्षेत्र न.२ मा वैशाख १५ गते उप-निर्वाचन, निर्वाचन कार्यतालिका सार्वजनिक

  २०८० फागुन १५

निर्वाचन आयोगले इलाम क्षेत्र न.२ मा ०८१ वैशाख १५ गते उपनिर्वाचन गर्ने भएको छ । निर्वाचन आयोग पदाधिकारीको ०८० फागुन १३ गतेको बैठकले इलाम क्षेत्र न.२ मा वैशाख १५ गते उपनिर्वाचनका लागि मिति तय गरेको हो ।

इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको ०८० भदौ २६ मा निधन भएपछि रिक्त सदस्य पदका लागि आयोगले निर्वाचन मिति तोकेको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारको परामर्शसमेतको आधारमा इलाम जिल्ला निर्वाचन क्षेत्र न.२ का रिक्त प्रतिनिधिसभा सदस्य एक पदका लागि ०८१ वैशाख १५ गते निर्वाचनको मिति तोकेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

इलाम क्षेत्र न.२ को उपनिर्वाचनमा ०८० चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गरिने आयोगको कार्यतालिका छ । ०८० फागुन १४ गते निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य रिक्त इलाम क्षेत्र न.२ को उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

आयोगका अनुसार ०८० फागुन १६ गतेदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरी ०८० चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।  सो उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ताका लागि ०८० फागुन २४ देखि ३० गतेसम्मको म्याद दिइ सूचना प्रकाशन गरिनेछ ।

फागुन २२ गते मुख्य निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी चैत २४ गतेदेखि २७ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ ।

निर्वाचन कार्यक्रमअनुसार चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता र चैत २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न वितरण गरिनेछ । चैत २८ गतेदेखि ०८१ वैशाख १२ गतेसम्म प्रचारप्रसारको अवधि रहनेछ ।

जिल्ला निर्वाचन अधिकारी देवीचरण फुयलका अनुसार, इलाम क्षेत्र न.२ मा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, देउमाई नगरपालिका, इलाम नगरपालिकाको १–९, ११ र १२ र माई नगरपालिकाको वडा ६–८ समेटिएको छ । प्रदेश सभा खण्ड अन्तर्गत यस निर्वाचन क्षेत्रमा इलाम २ (क) र (ख) छन् । इलाम क्षेत्र नं २ मा पुरूष ५८ हजार ७ सय ८४ जना, महिला ५६ हजार ५ सय ५६ जना र तेश्रो लिङ्गी दुई जना गरी १ लाख १५ हजार ३ सय ४२ जना मतदाता छन् । मतदानका लागि १ सय ४९ ओटा मतदान केन्द्र र ७९ ओटा मतदान स्थल रहने आयोगले जनाएको छ ।


मनोज अधिकारी