इलाका स्तरीय सरकारी कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा

राज्यले दिने सेवा सुविधा सेवाग्राहीको पायक पर्ने स्थानबाट दिनका लागि जिल्लाको सर्केगाडमा स्थापना भएका इलाका स्तरका वन, पशु सेवा, कृषि विकास र हुलाक कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा परेका छन् ।

इलाका स्तरीय सरकारी कार्यालयमा कर्मचारी नहुनु र उचित व्यवस्थापन अभावका कारण सेवाग्राहीका कामकाज ठप्प रहेको रोडीकोट गाविस-२ का स्थानीयबासी ओमप्रसाद जैसीले बताए ।

०७३ साउनमा स्थापना भएका इलाका कृषि कार्यालयमा तीन जना करार कर्मचारी रहेको भएपनि काम नहुँदा थप समस्या परेको जैसीले गुनासो गरे । सर्केगाडमा स्थापना भएका सरकारी कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राहीको काम ठप्प रहेको रोडीकोट निवासी पौमल कामीले बताए । सामान्य काम पर्दा सिमकोट धाउनु पर्ने बाध्यता रहेको कामीले गुनासो गरे ।

नाम मात्रका इलाका कार्यालय खोलिएकाले कामकाज हुन नसकेको स्थानीयबासीले बताएका छन् । कार्यालयका लागि आवश्यक पर्ने भौतिक संरचना, कागतपत्र, कर्मचारी र सेवा सुविधामा कमी भएकाले दरवन्दीमा रहेका कर्मचारी कार्यालयमा नबस्दा समस्या भएको स्थानीयबासीले जनाए । इलाका कार्यालयमा दरबन्दीमा राखिएका कर्मचारीहरू काज मिलान गर्दै सदरमुकाममा बस्ने भएकाले सेवाग्राहीले दुख खेप्नु परेको ओमप्रकाश जैसीले बताए ।

अन्नपात र पशुलाई सामान्य रोग लागेको भएपनि स्थानीयबासीहरू सिमकोट धाउनु पर्छ । स्थानीयबासीले सहजै पाउनु पर्ने सेवा सुविधा नपाउदा दुख पाउने गरेका छन् । जिल्ला कृषि विकास कार्यालयका प्रमुख दिनेशप्रसाद रायले सर्केगाड इलाका कार्यालयमा एक जना प्राविधिक सहायक, एक जना नायव प्राविधिक सहायक र एक जना कार्यालय सहयोगी गरी तीन जनाको दरबन्दी रहेको बताए । उक्त कार्यालयका कार्यालय प्रमुख कृष्ण तामाङ जिल्ला बाहिर रहेको रायले बताए भने अन्य दुई कर्मचारी कार्यालयमा छैनन ।

त्यसैगरी, पशु सेवा कार्यालयमा एक जना प्राविधिक सहायक र एक जना कार्यालय सहायक रहेको जिल्ला पशु सेवा कार्यालयका प्रमुख हरिबहादुर कुवरले बताए । इलाका कार्यालयका कार्यालय प्रमुख सदरमुकाममा कामको लागि आएको कुँवरले बताए । सर्केगाडमा रहेका इलाका कार्यालयबाट सर्किदेउ, बराई, गोठी, रोडिकोट, श्रीमष्ठा, मेल्छाम, दार्मा र मिमी गाविसका स्थानीयबासीलाई सेवा दिने गरी स्थापना गरिएको थियो ।


नन्द सिंह