इलाका प्रशासन कार्यालयमा ६ वर्षदेखि ताला नखुल्दा स्थानीय नागरिक मर्कामा
दुर्गमका नागरिकलाई सेवा दिन स्थापना गरिएको इलाका प्रशासन कार्यालय, लाप्चानेमा कर्मचारी नगएको कारण ६ वर्षदेखि कार्यालय नखुल्दा स्थानीय नागरिक मर्कामा परेका छन् ।
सो कार्यालयका कर्मचारी जिल्ला प्रशासन कार्यालयमा बसेर काम गरिरहेका छन् । जिल्लाको उत्तरी भेगको उमाकुण्ड र गोकुलगङ्गा गाउँपालिकाका नागरिक नागरिकता लगायतका कागजात बनाउन एक दिनको जोखिमपूर्ण यात्रा गरेर सदरमुकाम जान्छन् ।
त्यसरी काम लिएर सदरमुकाम जाँदा जोखिमपूर्ण यात्रा मात्र होइन सर्वसाधारणको खर्च पनि त्यतिकै हुने स्थानीय मणिराज सुनुवारले बताउनु भयो । 'उमाकुण्डको गुम्देलबाट मन्थली आएको गाडी भाडा मात्रै २ हजार रुपियाँ लाग्छ, आउँदा जाँदा गाडी भाडा ४ हजार रुपियाँ लाग्छ, आउन एक दिन, काम गर्न एक दिन फर्कन एक दिन गर्दा तीन दिन खर्च हुन्छ । आउने, जाने, खाने र बस्ने खर्च जोड्दा नागरिकताको काममा आउँदा एक जनाको १० हजार रुपियाँ खर्च हुन्छ । गाउँमा नै भए त्यो खर्च केही जोगिने थियो', सुनुवारले भन्नुभयो ।
जिल्लाको उत्तरी भेगका सेवाग्राहीलाई सेवा दिन २०७३ सालमा हालको उमाकुण्ड गाउँपालिकाको लाप्चानेमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको थियो । स्थापना गरेको करिब एक वर्ष कार्यालय चले पनि त्यसपछि सो कार्यालयमा ताला लागेको छ ।
देश सङ्घीय संरचनामा नजाँदै स्थापना गरिएको कार्यालय सङ्घीय संरचना सुरु भएपछि अपायकमा परेको कारण सेवाग्राही कम आएका भन्दै कर्मचारी जान नमानेको स्थानीय सुनुवारले जानकारी दिनुभयो । गाउँपालिकाको केन्द्र प्रीतिकै च्यादोलुमा चहलपहल बढ्यो तर लाप्चाने सुनसान भयो ।
गाउँपालिकाले स्थानीय तहको केन्द्रमा नै इलाका प्रशासन कार्यालय सारिदिन पटक पटक अनुरोध गरेपनि सरकारले सुनुवाइ गरेन । मन्त्रीस्तरको निर्णयबाट सारिनु पर्ने सो कार्यालय सार्न केन्द्र सरकारले कुनै चासो नदिएको उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले बताउनु भयो । गाउँपालिकाको गाउँ सभाले इलाका प्रशासन कार्यालय तथा मालपोत र नापी कार्यालयको शाखा समेत गाउँपालिका केन्द्रमा राखिदिन अनुरोध गर्ने सिफारिसका साथ निर्णय गरेपनि केन्द्र सरकार मौन रहेको अध्यक्ष सुनुवारले जानकारी दिनुभयो ।
ती कार्यालयको लागि गाउँपालिकाले आवश्यक संरचना समेत तयार गरेर राखेको छ । 'ती कार्यालयको लागि गाउँपालिकाले छुट्टै भवन नै बनाएर राखेको छ, तर केन्द्र सरकार मान्दै मान्दैन, नागरिक हामीलाई कराउँछन्, केन्द्र सरकार टेर्दैन', गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले गुनासो गर्नुभयो ।
सो विषयमा क्याबिनेटमा सिफारिस गरिदिन गाउँपालिकाको निर्णय सहित अध्यक्ष सुनुवार जिल्ला प्रशासन कार्यालयमा पनि पुग्नुभयो । उहाँ सो कार्यालयमा पुगेपछि प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले सर्वदलीय र सर्वपक्षीय बैठक बोलाउनु भयो । बैठकमा अधिकांश सहभागीले गाउँपालिकाको केन्द्रमा नै इलाका प्रशासन कार्यालय राख्नु उचित हुने सुझाव दिनुभयो । तर केही सहभागीले सोही गाउँपालिकाको बाम्ती भण्डारमा कार्यालय राख्न सुझाव दिनुभयो ।
बाम्तीमा कार्यालय नराख्ने हो भने थप तयारी सहित छलफल गर्नुपर्ने उहाँहरूले प्रस्ताव राखेपछि थप तयारी सहित निष्कर्षमा पुग्नु पर्ने भन्दै छलफलको लागि जिल्ला प्रशासन कार्यालयले समय दिएको छ । 'उहाँहरूले समय माग्नु भएको छ, त्यसपछि फेरी बैठक बसेको छैन, साउनको १५ भित्र बैठक बसेर एउटा निचोडमा पुग्छौँ', प्रमुख जिल्ला अधिकारी निरौलाले भन्नुभयो ।
कार्यालय अहिलेकै ठाउँ, गाउँपालिका केन्द्र वा बाम्ती जहाँ राखे पनि तत्काल सञ्चालनमा आउनु पर्ने गाउँपालिका अध्यक्ष सुनुवारको माग छ । 'गाउँपालिका केन्द्रमा राख्ने हो भने आवश्यक संरचना बनाइसकेको छ, अन्य ठाउँमा राख्ने भए पनि संरचना बनाउनु पर्यो, गाउँपालिकाले आवश्यक सहयोग गर्छ तर कार्यालय भने तत्काल सञ्चालन हुनु पर्यो', सुनुवारले भन्नुभयो ।
इलाका प्रशासन कार्यालयका अधिकृत अहिले सरुवा भएर जानुभएकोले उहाँ नआउँदासम्म कार्यालय सञ्चालन गर्न नसकिने प्रमुख जिल्ला अधिकारी निरौलाले बताउनु भयो । त्यति बेलासम्म राजनीतिक सहमति गरेर ठाउँ पनि निश्चित गरी कार्यालय स्थापनाको लागि सिफारिस गरेर गृह मन्त्रालयमा पठाउने उहाँले बताउनु भयो ।
नवराज घिमिरे
सम्बन्धित समाचारहरू
सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन पहल गरिरहेको छुः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले पीडितलाई न्यायको अनुभूति हुनेगरी सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन पहल गरिरहेको बताउनुभएको छ । ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोगद्वारा मङ्सिर २४ गते…
कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको छः प्रमुख न्यायाधीश भट्टराई
प्रमुख अतिथि पुनरावेदन अदालत पाटनको हेटौँडा इजलासका प्रमुख न्यायाधीश यमुना भट्टराईले लैङ्गिक हिंसा र असमान कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको बताउनु भयो । उहाँले न्याय प्राप्तिको लागि मानव…
मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध छौँः कानुनमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेश सरकारले निर्माण गरेको कानुनको कार्यान्वयन गरी मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध रहेको बताउनु भएको छ । ७५ औँ…
हत्या घटनाका आरोपित गिरफ्तार
इटहरी उपमहानगरपालिका-१२ की ५० वर्षीया भूमिकाकुमारी चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय गणेश चौधरीलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । भूमिकाका छोरासँग गणेशको विवाद भएको र…
मोरङ कारागारका एक थुनुवाको रहस्यमय मृत्यु, हत्याको आशङ्का
लेटाङ नगरपालिका-४ का ४० वर्षीय केशरबहादुर भुजेलको जिल्ला कारागारमा पुर्पक्षमा रहेको बेला रहस्यमय मृत्यु भएको छ । पीडित पक्षले कुटपिटका कारण भुजेलको मृत्यु भएको आरोप लगाएको छ । कारागार प्रशासनले बिरामी भएका…