इलाका प्रशासन कार्यालयका कर्मचारी दुई हप्तादेखि नहुँदा सेवाग्राही प्रभावित

सर्केगाड गाउँपालिकास्थित इलाका प्रशासन कार्यालयमा कार्यरत कर्मचारी तीन हप्तादेखि नहुँदा सेवाग्राही प्रभावित भएका छन् ।

इलाका प्रशासन कार्यालयमा कार्यरत कर्मचारी असार १४ गतेबाट कार्यालयमा नहुँदा उक्त कार्यालयले सेवा प्रभावित भएको हो ।

उक्त कार्यालयबाट नागरिता, नुन र चामलका लागि कुपन वितरण, राहदानीको सिफारिस लगायतका सेवा नपाउँदा सर्केगाड गाउँपालिकाका, अदानचुली गाउँपालिका, ताजाकोट गाउँपालिका र चङ्खेली गाउँपालिकाका स्थानीबासी प्रत्यक्ष मर्कामा परेका छन् । इलाका प्रशासन कार्यालयमा कर्मचारी नहुँदा उक्त क्षेत्रका सेवाग्राही जिल्ला प्रशासन कार्यालयमा सेवा लिन जाने गरेका छन् ।

इलाका प्रशासनबाट सेवा नपाएपछि तीनदेखि पाँच दिनको पैदल हिँडेर जिल्ला प्रशासन कार्यालयमा गई सेवा लिएको सर्केगाड गाउँपालिका-२ का वीरवन बुढाथोकीले गुनासो गरे ।

बुढाका अनुसार आफ्नै गाउँपालिकाको इलाका प्रशासनमा हुने विभिन्न सिफारिस सहज रूपमा पाउने भए पनि इलाका प्रशासन कार्यालयमा कार्यालय प्रमुखदेखि कार्यालय सहयोगीसमेत नभएपछि सो इलाका प्रशासन बन्द रहेको छ । सदरमुकाम सिमकोटमा आवतजावत गर्दा करिव ८ हजार रुपियाँ खर्च हुने गरेको वीरवनले गुनासो गरे ।

जिल्ला प्रशासन कार्यालयमा बुझ्दा आफ्ना कर्मचारी इलाका प्रशासनमा रहेको प्रमुख जिल्ला अधिकारी धनप्रसाद शर्मा पौडेलले बताए । तर, सर्केगाड इलाका प्रशासन कार्यालयका निमित्त कार्यालय प्रमुख भिमबहादुर रोकायले भने आफू कार्यालयको कामले फिल्डमा गएको र अन्य कर्मचारी मनोमानी ढङ्गले जाने गरेपछि सेवाग्राही प्रभावित भएको बताए ।

चार जनाको दरबन्दी रहेको इलाका प्रशासन कार्यालयमा स्थानीयबासीलाई सेवा सुविधा दिन नसकेको निमित्त कार्यालय प्रमुख रोकायको भनाइ छ । केही दिनपछि आफू कार्यालयमा फर्कने बताउँदै आफू फर्केपछि कर्मचारीलाई कडाई गर्ने रोकायले बताए ।


नन्द सिंह