इन्सेक सम्मिलित अधिकारकर्मीद्वारा बर्दिया घटनाको अनुगमन

  ०७९ जेठ २६ गते

मुधवन नगरपालिका२ ओराली बजारमा जेठ २३ गते प्रहरीको गोली लागेर मृत्यु भएको घटनाका सम्बन्धमा इन्सेक सम्मिलित मानव अधिकारकर्मीको टोलीले जेठ २५ गते घटनास्थलको अनुगमन गरेको छ ।

उक्त घटनामा सोही ठाँउकी २० वर्षीय नविना थारू मृत्यु भएको थियो भने २२ वर्षीय राकेशकुमार चौधरी घाइते भएका थिए ।

अनुगमन टोलीले घटना स्थल, घटनाका प्रत्यक्षदर्शी, पीडित परिवार, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्स्तोला, एसपी बीरबहादुर शाहीसँग भेटघाट गरी घटनाको तथ्य संकलन गरेको छ ।

मृतकका बुवा दुलारे थारू र आमा रामकृष्णी थारूले घटनाको सत्य तत्थ्य बाहिर ल्याउन र दोषीलाई कानुनी कारवाही गर्नु पर्ने माग राखेका छन् ।

मधुवन नपा२ सोनाहा की ४० वर्षीया सुस्मिता थारूलाई जेठ २३ गते बिहान खेतमा काम गरिरहेको अवस्थामा बाघले आक्रमण गरी घाइते बनाएको घटनालाई लिएर स्थानीयहरूले हुलाकी राजमार्ग अवरोध गरी आन्दोलन गरिरहेका थिए । आन्दोलनकारीहरूले सरकारले घाइतेको निशुल्क उपचार गर्नु पर्ने र नरभक्षी बाघलाई नियन्त्रणमा लिनुको साथै नागरिकहरुको सुरक्षा हुन पर्ने माग गर्दै दिनभरी सडक अवरोध गरेका थिए ।

photo2022060903bardiya

आन्दोलनका अगुवा कालुराम चौधरीले शान्तिपूर्ण आन्दोलनमा प्रहरी प्रशासनले अप्रत्यासित रुपमा दमनको निति लिएर आक्रमण गरेको आरोप लगाउनु भयो ।

सांझको ६ बजिसकेको थियो । आन्दोलनकारीहरू आफै पनि घरतिर जाने मनस्थीतीमा थिए । प्रशासनसँग वार्ता गरी सहमती गर्ने भनेर गुलरियाबाट टोली आउन लागेको खवर आएको थियो । तर अचानक प्रहरीले सिट्ठी बजाएर माथिको आदेश छ भन्दै अवरोध हटाउन आन्दोलनकारी माथि आक्रमण गरेपछि दोहोरो झडप भएको हो । कालुरामले भन्नु भयो ।

जिल्ला प्रहरी कार्यालय गुलरियाका एसपि बीरबहादुर शाहीले घटना स्थलमा नेपाल प्रहरीले त्यहाँको स्थीती नियन्त्रणमा लिन एक राउण्ड हवाई फायर मात्रै गरेको बताउनु भयो । उहाँले गोली चलाउने आदेश नरहेको पनि बताउनु भयो । मृतकको मृत्यु के कारणले भयो भन्ने कुरा पोष्टमार्टम पछि मात्र भन्न सकिने बताउनु भयो । प्रहरीले सयम्ता अपनाए पनि आन्दोलनकारी तर्फबाट नियोजित रुपमा आन्दोलनलाई दुर्घटना तर्फ लैजान खोजेको आरोप शाहीले लागाउनु भयो ।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले गृह मन्त्रालयबाट घटनाको छानविन समिति गठन भएर आइसकेकोले अब के कसरी घटना हुन पुग्यो भन्ने बारेमा समितिको प्रतिवेदनले नै बताउने धारणा राख्नु भयो ।

photo2022060904bardiya

उक्त घटनाबारे अनुसान्धान गर्न गृह मन्त्रालयले गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको छ । समितिले घटनास्थल पुगेर जेठ २५ गते देखि काम सुरू गरेको छ ।

समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप महानिर्देशक बेदकुमार ढकाल, नेपाल प्रहरीका एसपी कृष्ण कोईराला, राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उपसचिव ध्रुव खड्का सदस्य छन् । समिति ७ दिनभित्र प्रतिवेदन बुझाउने गरी काम सुरू गरेको समितिका संयोजक हरि घिमिरेले बताउनु भयो ।

घाइते राकेशकुमार चौधरीको नेपालगञ्जस्थित नेपालगञ्ज शिक्षण अस्पतालमा उपचार भइरहेका छ ।  झडपमा डिएसपी सुर्य सुवेदी सहित १२ जना प्रहरी घाइते भएका र आन्दोलनकारी तर्फ पनि केही घाइते भएका  एसपी शाहीले बताउनु भयो ।

पीडित र सरकार पक्ष बिच मृतक परिवारलाई तत्काल क्षतीपूर्ति र घाइतेको निशुल्क उपचार गर्ने सहमति भएपछि आन्दोलन रोकिएको छ । पीडित पक्ष, प्रशासन, स्थानीय जनप्रतिनिधि र राजनीतिक दल बिच भउको सहमतिमा मृतकका परिवारलाई २० लाख रूपियाँ क्षतिपूर्ति दिने, मृतकको शालिक निर्माण र घाइतेहरूको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने सहमति भएको जिल्ला प्रहरी कार्यालयका एसपी बीरबहादुर शाहीले बताउनु भयो ।

photo2022060905bardiya

बर्दिया राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र, खाता जैविक मार्गमा मानव वसोबास क्षेत्रभित्र मानव वन्यजन्तु द्धन्द्धको स्थायी समाधान खोज्ने, पटक पटक मानिसलाई आक्रमण गर्ने नरभक्षी बाघको पहिचान गरी स्थानान्तरण गर्ने र सो वन्यजन्तुको आक्रमण बढी हुने करिब २० किलो मिटर.क्षेत्रमा तारजाली तथा कंक्रिट वाल लगाउने सहमति पछि सडक सूचारु भएको मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाटले जानकारी दिनुभयो ।

पीडित पक्षका वार्ता टोली संयोजक सदस्य ढिकराम थारूले मागहरु पुरा गर्ने सहमति भएकाले बन्द फिर्ता लिइएको बताउनु भयो ।

अनुमगमन टोलीमा इन्सेक नेपालगञ्जकी अधिकृत सरस्वती मल्ल, इन्सेक प्रतिनिधि मानबहादुर चौधरी, अधिकारकर्मी बसन्त गौतम, प्रभात ठकुरी र पत्रकार बिजय मल्ल रहेका थिए ।

photo2022060906bardiya


मानबहादुर चौधरी