इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगको टोलीद्वारा जिल्ला कारागारको अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानव अधिकार आयोगको टोलीले ०८० पुस १३ गते जिल्ला कारागारको स्थलगत अनुगमन गरेको छ । उक्त जिल्ला कारागारको अनुगमनको क्रममा कारागारका प्रमुख र चौकीदार नाइकेहरू तथा कैदीबन्दीहरूसँग छलफल गरी कारागार तथा कैदीबन्दीहरूको अवस्थाको बारेमा जानकारी लिइएको हो ।

जिल्ला कारागारका कार्यालय प्रमुख रामकृष्ण घिमिरेले कारागारको अन्तरिक प्रशासनका बारेमा जानकारी गराउनु भएको थियो । जिल्ला कारागारमा १ सय २७ कैदी र २९ थुनुवा गरी १ सय १ जना कैदीबन्दी रहेको प्रमुख घिमिरेले बताउनु भयो । उहाँका अनुसार कारागारमा ५४ जना कैदी जबर्जस्ती करणी मुद्दामा र ४२ जना कर्तव्य ज्यान मुद्दामा कैद जीवन बिताई रहेको छन् ।

जिल्ला कारागारमा १० जना कर्मचारीको दरबन्दी रहे पनि अहेवको दरबन्दी खाली रहेको र भिमेश्वर नगरपालिकाले अहेवलाई काजमा खटाएको जेलर रामकृष्ण घिमिरेले जानकारी दिनु भयो । अनुगमनका क्रममा कैदीबन्दीहरूले कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्य बिमाका लागि आवश्यक प्रकृया अगाडि बढाई दिन आयोगको टोली समक्ष आग्रह गरेका थिए ।

कारागारमा एक जनाको दरबन्दीमा रहेका स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको स्वास्थ्य जाँचमा समस्या भएको कारागार प्रमुख घिमिरेले अनुगमन टोलीलाई जानकारी गराउनु भएको छ ।

कारागारका समस्याहरूका बारेमा सम्बन्धित निकायहरूसँग पहल गर्ने राष्ट्रिय मानव अधिकार आयोग, बागमती प्रदेश कार्यालयका प्रशासन प्रमुख लोकनाथ घिमिरेले बताउनु भयो । उहाँले कारागारमा तत्काल आवश्यक रहेका कुरालाई सम्बन्धित निकायसँग पहल गरेर सहजिकरण गर्ने बताउनु भयो ।

त्यसैगरी इन्सेक जिल्ला प्रतिनिधिले कारागारको कैदीबन्दीहरूको मानव अधिकारको अवस्थाको बारेमा अनुगमन गरिएको बताउनु भयो । उहाँले कारागारभित्रका कैदीबन्दीको आयआर्जनका लागि सीपमूलक कार्यक्रम मार्फत व्यवसायिक बन्न सके उनीहरूलाई थप सहजीकरण हुने उल्लेख गर्नुभयो ।

Photo_080-9-15_Dolakha..


उद्धव पोखरेल