इन्सेक, राष्ट्रिय मानव अधिकार आयोग र नागरिक समाज बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्सेक, राष्ट्रिय मानव अधिकार आयोग, बागमती प्रदेश कार्यालय र नागरिक समाज बिच अन्तरक्रिया कार्यक्रम ०८० पुस १५ गते चरिकोटमा सम्पन्न भएको छ ।

उक्त अन्तरक्रिया कार्यक्रममा जिल्लाका कानुन व्यवसायीहरूले प्रहरी हिरासतमा यातना बढेको, हिरासतमा रहेकाहरूले आफन्तलाई सहज ढङ्गले भेटघाट गर्न नपाएको बारेमा भनाई राखेका थिए ।

जिल्लामा बलात्कार र बलात्कारका घटना तुलनात्मक रूपमा बढेको, जिल्लामा रहेको पशुपति चौलागाई प्रादेशिक अस्पतालमा निः शुल्क वितरण गर्ने औषधिको अभाव भई निजी औषधालयमा नागरिकहरूले औषधि खरिद गर्नु पर्ने अवस्था हुँदा दुर्गम क्षेत्रमा रहेका स्वास्थ्य केन्द्रमा समेत नियमित औषधि नरहेको बारेमा प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जिबी मास्केले बताउनु भयो ।

जिल्लामा सामूहिक बहिष्कारका घटना हुनु दुखद भन्दै आयोगले यस्ता विषयलाई न्यूनीकरण गर्नका लागि सचेतनामूलक कार्यक्रम र पीडितलाई छिटो न्याय दिलाउनका लागि भूमिका बढाउन ध्यान दिनुपर्ने नेपाल बार दोलखाका अध्यक्ष कृष्ण बस्नेतले उल्लेख गर्नुभयो । नियमित बजार अनुगमन कार्य नहुँदा अस्वस्थकर खाद्यवस्तु उपभोक्ताले उपभोगले स्वास्थ्य समस्या निम्तिने हुँदा जिम्मेवार निकायलाई प्रभावकारी जबाफदेही बनाउन जिल्लाका नागरिक समााजका संस्था थप सक्रिय हुनुपर्ने र आवश्यक समयमा आयोगले सहयोग गर्नुपर्ने सहभागिहरूको भनाई रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग, बागमती प्रदेश कार्यालयका मानव अधिकार अधिकृत कृष्णप्रसाद मिश्रले आयोगको मानवीय तथा आर्थिक श्रोतले भ्यायसम्म नागरिकलाई सचेतीकरण र जिम्मेवार निकायलाई जबाफदेही बनाउन निरन्तर लागिरहेको बताउनु भयो । उहाँले स्थानीय स्तरमा रहेको नागरिक समाजसँगको सहकार्यमा नागरिकलाई मानव अधिकारको अनुभूति गराउन क्रियाशिल रहेको उल्लेख गर्नुभयो ।

जिल्लाको मानव अधिकारको अवस्थालाई मध्यनजर गर्दै नागरिकलाई मानव अधिकारको सहज उपभोग र उपयोगमा आयोग निरन्तर लागिरहेको राष्ट्रिय मानव अधिकार आयोग, बागमती प्रदेश कार्यालयका प्रशासन प्रमुख लोकनाथ घिमिरेले बताउनु भयो ।

त्यसैगरी इन्सेक जिल्ला प्रतिनिधिले इन्सेकले अभिलेख गरेको घटनामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटनाका पीडित महिला तथा बालबालिका रहेको र त्यसमा पनि बढी घटना बलात्कार तथा यौन हिंसाका रहेको र बाँकी घरेलु हिंसाका भएको उल्लेख गर्नु भयो ।

कार्यक्रमा प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जिबी मास्के, नेपाल बार दोलखाका अध्यक्ष कृष्ण बस्नेत, इन्सेक जिल्ला प्रतिनिधि, मानव अधिकारकर्मी होम पाठक, महिला अधिकारकर्मी सिर्जना कार्की, फरक क्षमता भएका समुदायको संस्थाका मखन पाण्डे, पत्रकार महासङ्घका तारा महत लगायत स्थानीय सञ्चार माध्यमका प्रतिनिधि साथै कानुन व्यवसायीहरूको सहभागिता रहेको थियो ।

Photo_080-9-15_Dolakha4

Photo_080-9-15_Dolakha3

Photo_080-9-15_Dolakha2

Photo_080-9-15_Dolakha


उद्धव पोखरेल