इन्सेक प्रतिनिधिलाई कुटपिट घटनाका आरोपित प्रहरीलाई कारबाहीका लागि पत्राचार

  ०८० असोज ५ गते

इन्सेक सप्तरी, प्रतिनिधि तथा पत्रकार मनोहर कुमार पोखरेलमाथि भएको कुटपिट घटनाको उजुरी दर्ता गरी आवश्यक कारबाहीका लागि जिल्ला सरकारी वकिलको कार्यालयले असोज ४ गते जिल्ला प्रहरी कार्यालय पठाउने निर्णय गरेको छ ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५ (२) बमोजिम जिल्ला प्रहरी कार्यालय, सप्तरीले दर्ता गर्न इन्कार गरेको उजुरी आवश्यक कारबाहीका लागि पत्रसहित सक्कल उजुरी पठाउने जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौलाले बताउनु भयो ।

संहिताको दफा ५ (१) मा सम्बन्धित प्रहरी कार्यालयले जाहेरी दरखास्त दर्ता नगरेमा सरकारी वकिलको कार्यालय वा माथिल्लो तहको कार्यालयमा उजुरी गर्न सकिने कानुनी व्यवस्था छ । यस्तै दफा ५ (३) मा उल्लेख छ त्यस्तो “जाहेरीदरखास्त वा सूचनालाई सम्बन्धित प्रहरी कार्यालयले दफा ४ को उपदफा (३) बमोजिम दर्ता गरी कारबाही गर्नु पर्नेछ ।”

सूचना तथा समाचार सङ्कलन गरेर फर्किदै गरेका बेला जिल्ला प्रहरी कार्यालयको परिसरमा पोखरेललाई ०८० साउन १५ गते कुटपिट गर्ने असई ४० वर्षीय राजेश्वर महतोमाथि कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय पुगे पनि एसपी नरेन्द्रकुमार कार्कीले उजुरी दर्ता गर्न अस्वीकार गरेपछि पीडित पोखरेल जिल्ला सरकारी वकिलको कार्यालय जानु भएको थियो ।

कुटपिट घटनाको साढे एक महिना बितिसक्दा पनि जिल्ला प्रहरी कार्यालय सप्तरीले उजुरी दर्ता गर्न वा दरपीठ गर्न समेत नमानेपछि सरकारी वकिलको कार्यालय जानु परेको इन्सेकका प्रदेश संयोजक राजु पासवानले बताउनु भयो ।

उजुरी दर्ता गर्न इन्सेक प्रदेश संयोजक पासवान र पीडित पोखरेलसहित इन्सेक सदस्य तथा प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य अवधेशकुमार झा, महासंघ सप्तरी शाखाका सदस्य दिनानाथ यादव, एडभोकेसी फोरमका अधिवक्ताहरू राजकुमार महासेठ, कुमार प्रसाद थपलिया ०८० असोज १ गते जिल्ला प्रहरी कार्यालय जानु भएको थियो ।

कुटपिट गरेको स्वयम् आरोपितले साउन १५ गते स्वीकार गरेको, सीसीटिभीमा समेत रहेको र पोखरेलमाथि दुव्र्यवहार÷हातपातमा संलग्न भन्दै असई महतोलाई साउन १६ गतेदेखि नै प्रहरीले निलम्बन गरेको अवस्थामा आन्तरिक कारबाहीको निर्णय भएको छैन ।

पीडितले न्यायका लागि प्रचलित कानुन बमोजिम दिन पाउने उजुरी समेत प्रहरीले नलिएको पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य झाले बताउनु भयो ।

राजविराज नगरपालिका–२ का अकबर अलीको विपक्षी जिल्ला प्रहरी कार्यालय समेत भएको गर्भपतन मुद्दामा उच्च अदालत जनकपुर, राजविराज इजलासबाट २०८० जेठ २६ गते भएको परमादेश अनुसारको २०८० साउन ७ गतेको पत्र जिल्ला प्रहरी कार्यालय सप्तरीमा दर्ता भए पनि उजुरी दर्ता नभएकोमा निजकै आग्रहमा प्रमाण खण्डका साक्षी समेत भएर २०८० साउन १५ गते जिल्ला प्रहरी कार्यालय जाँदा पोखरेलमाथि असई महतोले मुक्का र बुटले आक्रमण गरेका थिए ।

मुद्दा फाँटबाट बाहिरदै गर्दा अचानक आएका असई महतोले गालीगलौज गर्दै धम्काएर रिसाउँदै कार्यालय भित्र गएको एक दुई मिनेटमा फर्किएर मुक्का र बुटले प्रहार गरेको पीडितले बताउनु भयो । पीडितको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार भएको थियो ।

प्रहरीबाट भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघले एक सातासम्म आन्दोलन गरेपछि साउन ३० गते सिडिओ भूपेन्द्र थापा, एसपी कार्की र पत्रकार महासंघबीच दोषी असई महतोलाई प्रचलित कानुन अनुसार कारबाही गर्ने सहमति भएको थियो ।

सरकारी वकिलको कार्यालयको सिफारिशमा प्रहरीले उजुरी दर्ता गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढने र न्याय पाइने कुरामा पोखरेलले विश्वास व्यक्त गर्नुभयो ।

उक्त घटनाका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोग, फोरम एशिया, इन्सेक, नेपाल पत्रकार महासंघ सप्तरी, मधेस प्रदेश, केन्द्रीय कार्यालय, आमसञ्चार प्राधिकरण जनकपुरधाम, पत्रकार तथा मानव अधिकार सम्बद्ध विभिन्न संघ–संगठन, सप्तरी जिल्ला वार इकाई, राजविराज उच्च अदालत वार एशोसिएशन, गैसस महासंघ सप्तरी, सामुदायिक सेवा केन्द्र, सप्तरी र सप्तरीमा क्रियाशील ६ राजनीतिक दललगायतले दोषीलाई कारवाही गर्न माग गर्दै प्रेस विज्ञप्ति जारी गरेका छन् ।


मधेस प्रदेश कार्यालय जनकपुरधाम