इन्सेक प्रतिनिधिको सहजिकरणमा विवाद समाधान

  ०७३ कात्तिक २८ गते

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाद्वारा बासखर्क गाविसका भूकम्प पीडितहरूलाई सोलार प्यानल वितरण गर्नलाग्दा स्थानीय नेकपा एमाले र नेपाली काङ्ग्रेसका कार्यकर्ताबीच भएको विवाद कात्तिक २७ गते इन्सेक जिल्ला प्रतिनिधिको सहजिकरणमा समाधान भई राहत वितरणको कार्य सम्पन्न भएको छ ।

रेडक्रसद्वारा कात्तिक २६ गते वितरण गर्न लागिएको सोलार प्यानल नेपाली काङ्ग्रेसले एकलौटी ढङ्गबाट वितरण गर्न लागेको भन्दै एमालेका कार्यकर्ताहरूले विवाद सुरु गरेपछि दोहोरो झडप भएको थियो ।

झडपका कारण सो दिन सोलार वितरण हुन सकेको थिएन । राहत लिन आएका स्थानीयहरूबिच नै झडप भएको थियो । झडपमा काङ्ग्रेस पक्षधर बासखर्क गाविस-८ का २२ वर्षीय राजेश दोङ र एमाले पक्षधर सोही गाविस-५ का ४५ वर्षीय पोडे विक घाइते भएका थिए ।

राहत वितरणमा अवरोध भएर स्थिति तनावग्रस्त भएपछि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति राजेन्द्रमान ताल्चाभडेलले कात्तिक २६ गते बेलुका इन्सेक जिल्ला प्रतिनिधिलाई घटनाको जानकारी गराउँदै सहजिकरण गराएर विवाद समाधान गरिदिन अनुरोध गरेका थिए । उनको अनुरोधपछि कात्तिक २७ गते बिहान इन्सेक जिल्ला प्रतिनिधि नातिबावु धितालले घटनास्थलमा पुगी अवस्थाको अवलोकन गरी विवादित दुबै पक्षलाई छलफलमा संलग्न गराएर सहमती गराएको बताए ।

भूकम्पले आहत भएका नागरिकहरूलाई राहत वितरणमा अवरोध नगर्ने विवादित दुबै पक्षको सहमती भएपछि नेपाल रेडक्रस सोसाइटीले राहत वितरण कार्य सम्पन्न गरेको हो ।


इन्सेक मध्यमाञ्चल क्षेत्रीय कार्यालय, काठमाडौँ