इन्सेक तथा मानव अधिकारकमीहरूको टोलीद्वारा बाल सुधार गृहको अनुगमन

  ०८० असोज १२ गते

WhatsApp Image 2023-09-28 at 5.43.15 PM (2)

वीरगंज महानगरपालिका–४ स्थित बाल सुधार गृहको इन्सेक तथा मानव अधिकारकमीहरूको टोलीले ०८० असोज ११ गते अनुगमन गरेको छ ।

बाल सुधार गृहको स्थलगत अवलोकनबाट मापदण्ड बमोजिम सुधार गृह सञ्चालन नभएको भेटिएको इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले बताउनु भयो । उहाँले सुधार गृहको क्षमता भन्दा दोबर संख्यामा बालबालिकाहरू राख्दा समस्या हुने गरेको बताउनु भयो । १०/११ को सांघुरो एउटा कोठामा १४/१५ जना बालबालिकाहरू बस्नु पर्ने बाध्यता रहेको संयोजक भण्डारीले बताउनु भयो । ६० जना बस्न सक्ने क्षमता भएको सुधार गृहमा हाल १ सय २६ जना बस्दै आएका छन् । एउटा कोठामा खाटमाथि खाट राखेर बालबालिकाहरूलाई बस्न लगाइएको उहाँले बताउनु भयो ।

यसका साथै बालबालिकाहरूले पढ्न पाउनु पर्ने अधिकारबाट वञ्चित भएको, खेलको सुविधा नभएको, खानेपानी लगायतको समस्या देखिएकोले सम्बन्धित निकायमा समस्या समाधानको लागि पहल गर्ने आश्वासन समेत संयोजक भण्डारीले दिनु भयो ।

अवलोकनको क्रममा सुधार गृहमा देखिएको समस्या प्रतिवेदन मार्फत पेश गरिने मानव अधिकार आयोग हेटौडाका मानव अधिकार अधिकृत कृष्ण मिश्रले बताउनु भयो । उहाँले सुधार गृहमा मानव अधिकार तथा बाल अधिकारको पूर्ण पालना हुनु पर्ने बताउँदै त्यस्तो नदेखिएकोले सम्बन्धित निकायमा समाधानको लागि पहल गर्नु पर्ने आश्वासन समेत दिनु भयो ।

सुविधा सम्पन्न बाल सुधार गृह हुनु पर्ने बाल सुधार गृह वीरगंजका वाडेन कृष्ण प्रसाद साह गोढले बताउनु भयो । उहाँले खेल मैदान सहितको प्रयाप्त भवन भएको सुधार गृह हुनु पर्ने बताउनु भयो । उहाँले भन्नु भयो “यसका साथै १८ बर्ष माथिको बालबालिकाहरूलाई अन्यत्र व्यवस्थापन गर्ने हो भने बाल सुधार गृहमा धेरै जसो समस्या समाधान हुने छ ।”

अनुगमन टोलीले भदौ २६ गते सुधार गृहमा भएको घटनाको बारे समेत जानकारी लिएको थियो । सुधार गृहको अवलोकन पछि अनुगमन टोलीले घटना बारे पर्साका सिडिओ हिरालाल रेग्मीसँग पनि छलफल गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर अनुगमन टोलीले सिडिओ रेग्मीसँग घटना बारे बुझ्नुको साथै समस्या समाधान बारे छलफल गरेको थियो । छलफलको क्रममा सिडिओ रेग्मीले सुधार गृहमा हुनु पर्ने पुर्वाधार नभएर समस्या भएको बताउनु भयो । उहाँले नीतिगत र केन्द्रिय तहबाट हुनु पर्ने समस्या देखिएकोले समाधान गर्न गाह्रो भएको बताउनु भयो ।

त्यसपछि अनुगमन टोली जिल्ला प्रहरी कार्यालय समेत पुगेर डिएसपी कुमार बिक्रम थापासँग घटना बारे जानकारी लिनुको साथै कारण बारे छलफल गरेको थियो ।

अनुगमन टोलीमा मानव अधिकार आयोग हेटौडाका मानव अधिकार अधिकृत लक्ष्मी पौडेल, सिविन मकवानपुर व्यवस्थापन प्रमुख झविन्द्र ज्ञवाली, इन्सेक जिल्ला प्रतिनिधि शम्भु कुमार सुमन लागयतको सहभागिता रहेको थियो ।

WhatsApp Image 2023-09-28 at 5.43.15 PM (1) WhatsApp Image 2023-09-28 at 5.43.15 PM


शम्भु कुमार सुमन