इन्सेक गण्डकी प्रदेशद्वारा जिल्लाको निर्वाचन तयारीबारे अनुगमन

  ०७९ कात्तिक २५ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको संयोजनमा जिल्लामा कात्तिक २५ गते निर्वाचन पूर्व तयारीको गतिविधिका बारेमा अनुगमन गरिएको छ ।आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा समग्र जिल्लाको सुरक्षा अवस्था, निर्वाचनको तयारी र मानवअधिकारका क्षेत्रबाट मतदाताले प्राप्त गर्ने अधिकारका बारेमा अनुगमन गरिएको हो ।

image_50451969

अनुगमनका क्रममा इन्सेक प्रदेश कार्यालय गण्डकीका प्रमुख शिव खकुरेल र कार्यक्रम अधिकृत सवनम शर्मा सहितको टोलीले पर्वत जिल्ला कारागार, पर्वतको कुश्मा बजारमा तोकिएका मतदान स्थलको अनुगमनसँगै जिल्लाको निर्वाचनको तयारी र निर्वाचन सामग्री व्यवस्थापन तथा मतदान केन्द्रहरूको सुरक्षा र व्यवस्थाका बारेमा जिल्ला मुख्य निर्वाचन अधिकृत आनन्द प्रसाद श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलसँग प्रत्यक्ष भेटघाट गरी पछिल्लो अवस्थाका बारेमा जानकारी लिनुभएको थियो ।

अनुगमनका क्रममा पर्वत कारागारमा रहेका कुल १ सय ४ जना कैदीबन्दी मध्ये यस पटकको निर्वाचनमा ३५ जनाले मात्रै मताधिकार प्रयोग गर्न पाउने र अन्य कैदीबन्दीहरू छुटेको सन्दर्भमा समेत चासो व्यक्त गरिएको थियो ।

कारागार पर्वतकी जेलर शिला श्रेष्ठले अन्य कैदीबन्दीहरूको मतदाता नामावलीमा नाम नभएका कारण छुटेको बताउँदै आगामी निर्वाचनमा कोही पनि कैदी बन्दी छुट्न नदिन निर्वाचन आयोगलाई इन्सेक मार्फत मतदाता नामावली सङ्कलनका लागि सुझाव उपलब्ध गराइदिन आग्रह गर्नुभएको थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतका प्रवक्ता एवम् सहायक निर्वाचन अधिकृत राजु ढुंगानाले जिल्लामा सवै किसिमबाट निर्वाचनका लागि तिव्र तयारी भइरहेको बताउनुभयो । अपाङ्गमैत्री मतदान केन्द्र कति छन् भन्ने अनुगमन टोलीको जिज्ञासामा ढुंगानाले जिल्लाको समग्र भौगोलिक बनावट हेरेर सबैलाई सहज हुने तरिकाबाट व्यवस्थापन गरिएको जानकारी दिनुभयो । र

उहाँले केही विद्यालयमा बाहेक धेरै जसो स्थानमा अपाङ्गमैत्री संरचना नभएका कारण बास्तविक अपाङ्ग मैत्री मतदान केन्द्रहरू बन्न नसकेको बताउनुभयो ।

अनुमगन पश्चात् इन्सेकको टोली र पर्वत जिल्लामा क्रियाशिल सञ्चारकर्मी बीच छलफल समेत भएको थियो । छलफलका क्रममा पर्वत जिल्लामा क्रियाशिल सञ्चारकर्मीहरूले मानवअधिकारको क्षेत्रबाट निर्वाचनको बास्ताविक पर्यवेक्षण गरिदिन इन्सेक पर्वतलाई आग्रह गरेका थिए भने इन्सेकको तर्फबाट प्रदेश प्रमुख खकुरेलले सञ्चारकर्मीहरूले निर्वाचन स्वच्छ र भयरहित तवरबाट सम्पन्न गर्नका लागि सहयोग गर्न र मानव अधिकारको आँखाबाट समेत वाच डगको भूमिकामा रहेर सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

image_50452481


सन्तोष थापा