इन्सेक अनलाइनमा समाचार छापिएपछि भूकम्पपीडितलाई राहत दिलाउन सामुदायक मेलमिलाप केन्द्र सक्रिय

  ०७३ भदौ १७ गते

इन्सेक अनलाइनमा भदौ १५ गते "जग्गाधनी पूर्जा नभएका २६ घर परिवार राहतबाट वञ्चित" शीर्षकमा समाचार छापिएपछि मेलम्ची नपा-१२ स्थित शिखरपुरका २६ माझी घर परिवारलाई राहत दिलाउन समुदायिक मेलमिलाप केन्द्र सक्रिय भएको छ ।

इन्सेक अनलाइनमा समाचार छापिएपछि जिल्लामा क्रियाशील रहेको प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको बैठक बसेको हो । केन्द्रद्वारा गठन गरिएको जिल्लास्तरीय समुदायिक मेलमिलाप केन्द्रको बैठक भदौ १७ गते बिहान बसेर जग्गाधनी पुर्जा नभएर आवास पुनःनिर्माणको लागि सम्झौता हुन नसकेका मेलम्ची नपा-१२ शिखरपुरको सञ्जेलटारस्थित माझीबस्तीका २६ घर परिवारलाई राहतको लागी दुवै पक्षसँग समन्वय गरी यथाशीघ्र पहल गरिने निर्णय गरेको छ ।

समुदायिक मेलमिलाप केन्द्रका संयोजक तथा जिल्ला अदालतका तहसिलदार बिदुर कोइरालाको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको अध्यक्ष कोइरालाले जानकारी दिए ।

मेलमिलाप केन्द्रका सदस्य तथा पुनःनिर्माण प्राधिकरणका जिल्ला संयोजक भूवनेश्वर लामिछानेले जग्गासम्बन्धी विवादको समाधान गर्ने उपयुक्त समय अहिले नै भएकोले सामुदायिक मेलमिलाप केन्द्रमार्फत पीडितलाई न्याय दिलाउन पहल गर्ने निर्णय भएको बताए ।

जिल्लास्थित सामुदायिक मेलमिलाप केन्द्रमा जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी, वन, नापी, मालपोत र महिला तथा बालबालिका कार्यालयलगायत १३ ओटा सरकारी कार्यालय रहेका छन् ।

केन्द्रका जिल्ला संयोजक उद्धव अधिकारीले सामुदायिक मेलमिलाप केन्द्रले जल, जङ्गल र जमिनसँग सम्बन्धित विवादहरू मेलमिलापको माध्यमद्वारा रुपान्तरण गर्ने उद्देश्य रहेकोमा इन्सेक अनलाइनमा आएको समाचारले हाम्रो ध्यान आकर्षण भएको बताए ।

सञ्जेलटारका माझीहरूले विगत ६५ वर्षअघिदेखि भोगचलन गर्दै आएको सो जग्गा नवलपुर गाविसस्थित राजेन्द्रमान ताल्चाभडेल र कपिल श्रेष्ठलगायतको नाममा दर्ता भएकोले हाल माझीहरूले आवास पुनःनिर्माणको लागि राहत सुविधाबाट वञ्चित भएका हुन् ।


नातिबावु धिताल