इन्सेक अनलाइनमा प्रकाशित समाचारको प्रभावले पीडितको उजुरी दर्ता

रास्कोट नपा-१ का १९ वर्षीय सत्य टमटालाई कुटपिट गरी हत्या गरेको घटनामा संलग्नलाई कारबाहीको मागगर्दै आठ महिनाअघि उनका परिवारले सोही ठाउँका १९ वर्षीय कृष्ण टमटा र २२ वर्षीय रमेश टमटाविरुद्ध दिएको उजुरी आठ महिनापछि प्रहरीले दर्ता गरेको छ ।

'आठ महिनासम्म प्रहरीले उजुरी दर्ता नगरेको पीडित पक्षको गुनासो' शीर्षकमा इन्सेक अनलाइनमा चैत २२ गते समाचार प्रकाशन गरिएपछि प्रमुख जिल्ला अधिकारीको निर्देशनमा प्रहरीले चैत २६ गते उजुरी दर्ता गरेको पीडित परिवारका धर्म टमटाले बताएका हुन ।

घटनामा संलग्नलाई कारबाहीको मागगर्दै आठ महिनाअघि उनका परिवारले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिएपनि दर्ता नगरेको मृतकका बावु देउमल टमटाले गुनासो गरेका थिए ।

उक्त निवेदन दर्ता नभएपछि पीडितका परिवारले दोस्रो पटक आरोपितविरुद्ध कात्तिक २२ गते कर्तव्य ज्यान मुद्दामा किटानी उजुरी दिएका थिए । ठाडो निवेदन र किटानी उजुरी दुवै प्रहरीले दर्ता नगरेपछि पीडित पक्षले आवश्यक पहल गरिदिन इन्सेकलाई अनुरोध गरेका थिए ।

इन्सेक प्रतिनिधिको पहलमा चैत २२ गते मान्म बजारमा आयोजित पत्रकार सम्मेलनमा पीडित पक्षले आफ्ना गुनासा राखेका थिए ।

'पत्रकार सम्मेलन लगत्तै इन्सेक अनलाइनमा समाचार छापियो । समाचार प्रिन्ट गरेर आफूहरू प्रमुख जिल्ला अधिकारीसँग जाँदा प्रमुख जिल्ला अधिकारीले जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवासचन्द्र बोहोरालाई बोलाएर दर्ता गर्न निर्देशन दिएपछि उजुरी दर्ता भएर अनुसन्धान सुरू भएको हो ।'-मृतकका दाजु धर्म टमटाले भने ।

डिएसपी बोहोराले जिल्ला प्रशासनबाट सरकारी नेपाल ऐन सङग्रह खण्ड-२, सरकारी मुद्दासम्बन्धी ऐन-२०४९ को उपदफा ५ बमोजिम लिखित निर्देशन आएपछि मुद्दाको प्रक्रिया अगाडि बढाइएको बताए ।


कालीबहादुर मल्ल