इन्सेक अनलाइनको प्रभावः बुबा र आमा गुमाएका बालकहरूलाई विभिन्न व्यक्तिको आर्थिक सहयोग

रामेछापको मन्थली नगरपालिका-८, भलुवाजोरका बुबा र आमा गुमाएका बालकहरूलाई विभिन्न व्यक्तिले ०८० कात्तिक ५ गते आर्थिक सहयोग गरेका छन् ।

सिन्धुलीको सुनकोशी गाउँपालिका-५, वरपिपल निवासी महेश बसुन्केले टोल छिमेकका साथि तथा आफन्तजनसँग सहयोगको अपिल गरी १८ हजार २ सय ५० रुपियाँ जुटाएर बालकहरूलाई सहयोग गर्नुभएको छ ।

बुबा र आमा गुमाएका बालकहरूलाई बाँच्नै सङ्कट, पढाइ पनि छुट्ने अवस्था’ शीर्षकमा इन्सेक अनलाइनमा ०८० कात्तिक १ गते फिचर प्रकाशन भएको थियो भने बालकहरूलाई इन्सेकले कात्तिक ३ गते आर्थिक सहयोग गरेको थियो । इन्सेकको सहयोगबाट आफूहरू प्रभावित भइ सहयोगको लागि सबैसँग पहल गरी उक्त रकम सङ्कलन गरी उपलब्ध गराइएको वरपिपल निवासी महेश बसुन्केले इन्सेकलाई बताउनु भयो ।

बालकहरूको लागि महेश बिसुन्के आफैले ४ हजार रुपियाँ सहयोग गर्नुभएको छ । त्यस्तै सुकुमार बिसुन्के भुवनले ५ हजार १ सय रुपियाँ सहयोग गर्नुभएको छ । अन्य विभिन्न १० जना सहयोगीबाट ९ हजार १ सय ५० रुपियाँ सहयोग सङ्कलन भएको हो ।

गत दशैँको नवमीको दिन आमा गुमाएका चार जना बालकले एक वर्ष नबित्दै पुनः बुबा पनि गुमाएका छन् । बुबा र आमा गुमाएपछि भक्तबहादुर बसेल र गीता बसेकला छोराहरू १८ वर्षका लेखबहादुर बसेल, १६ वर्षका सञ्जीव बसेल, १२ वर्षका सरोज बसेल र आठ वर्षका सन्दीप बसेल बिचल्लीमा परेका हुन् । चार भाइ मध्ये लेखबहादुर र सञ्जीवले बिचमा नै पढाइ छाड्नु भएको छ भने सरोज पाँच र सन्दीप तीन कक्षमा पढ्दै हुनुहुन्छ ।

Photo_080-7-6_Ramechhap


नवराज घिमिरे