इन्सेकसहित सरोकारवालाको सक्रियतामा बाल विवाह रोकियो

  ०८१ असार २३ गते

१६ वर्षीया बालिकालाई असार २२ गते तातोपानी गाउँपालिका – ४ जैतपुर गाउँमा हुन थालेको बालविवाह रोकिएको छ । इन्सेक सहित बाल सञ्जाल, आवाज, प्रहरी र स्थानीय तहको सक्रियतामा हुन थालेको बाल विवाह रोकिएको हो ।

चन्दननाथ नगरपालिका – ८ की १६ वर्षीया बालिकालाई तातोपानी गाउँपालिका – ४ जैतपुर गाउँका २० वर्षीय प्रकाश सुनारले एक साता अघि भगाएर लिएका थिए । असार २२ गते विवाह गर्ने तयारी गरिएको थियो ।

जैतपुर गाउँमा बाल विवाह हुन थालेको सूचना प्राप्त भएपछि इन्सेक जिल्ला प्रतिनिधि मानदत्त रावलले तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईलाई फोन गर्नुभयो । अध्यक्ष चौलागाईले ऐरेनी प्रहरी चौकीबाट दुई जना प्रहरी बाल विवाह हुन थालेको जैतपुर गाउँमा पठाउनु भयो । चन्दननाथ नगरपालिका बाल क्लवका अध्यक्ष गोकर्ण सुनारको टोली पनि बाल विवाह हुन थालेको जैतपुर गाउँमा पुगेपछि बाल विवाह हुन सकेन ।

चन्दननाथ नगरपालिका महिला बालबालिका शाखाकी कमला कठायतले भन्नुभयो, बालविवाह हुन थालेको गाउँमा बाल क्लवका पदाधिकारी र प्रहरी गाउँमा पुगेपछि बाल विवाह भएन । असार २२ गते राती नै विवाह नगरेर बालिकालाई रातारात चन्दननाथ – ८ स्थित आफ्नो घरमा पु¥याईयो ।

कानुनी कारवाहीका लागि बाल क्लवले जिल्ला प्रहरी कार्यालयको महिला बालबालिका सेलमा असार २३ गते निवदेन पनि दिएको उहाँले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी छेदीलाल कामतिका अनुसार बाल विवाहको विषयमा महिला बालबालिका सेलमा निवेदन परेको छ । त्यस अनुसार बाल विवाह गर्न थालेका आरोपितलाई गिरफ्तार गरि आवश्यक कानुनी कारवाही गर्ने छौँ ।


मानदत्त रावल