इन्सेकसहितको उपस्थितिमा बजार अनुगमन, गाउँपालिकाद्वारा अखाद्य वस्तु जफत गरी नष्ट

  ०८१ भदौ ३१ गते

इन्सेकसहितको उपस्थितिमा भदौ ३१ गते काठेखोला गाउँपालिकाले वडा नम्बर ७ मा सञ्चालित खुद्रा किराना तथा खाजाघरहरूको अनुगमन गरिएको छ ।

गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापाको संयोजकत्वमा अक्षते प्रहरी चौकी, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), पत्रकार र गाउँपालिकाका विभिन्न शाखाका प्रमुख सहितको उपस्थितिमा गरिएको अनुगमनमा प्राय सबै किराना पसलहरुमा म्याद गुज्रिएका अखाद्य वस्तुको विक्री वितरण भएको पाइएको छ ।

वडा नम्बर ७ मा सञ्चालित २७ ओटा पसलको अनुगमन गर्दा १५ ओटा पसल स्थानीय तहमा दर्ता नभइ सञ्चालन भएको पाइएको गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापा बताउनु भएको छ ।

अनुगमन टोलीले पसलबाट म्याद गुज्रिएका पेय पदार्थ, मैदा, बिस्कुट, सुजी, चाउचाउ नियन्त्रणमा लिएर नष्ट गरेको छ । उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी म्याद गुज्रिएको वर्षौँ भएका किराना सामग्री समेत विक्री हुँदै आएको पाइएको पनि उपाध्यक्ष थापाले बताउनु भएको छ ।

अनुगमन टोलीले दर्ता नभएका पसलहरू तत्काल स्थानीय तहमा दर्ता गर्न, नविकरण नभएका व्यवसायलाई नविकरण गर्न, उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने सामग्री विक्री नगर्न अनुरोध गरेको छ ।

नेपालको संविधानको धारा ३६ मा खाद्यसम्बन्धी हकको व्यवस्था गरिएको छ । उक्त धाराको उपधारा २ मा प्रत्येक नागरिकलाई खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक हुनेछ भनिएको छ ।

photo20240916baglung

त्यसैगरी संविधानको धारा ४४ मा उपभोक्ताको हकको व्यवस्था छ । उक्त धाराको उपधारा १ मा प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक हुनेछ भनिएको छ । उपधारा २ मा गुणस्तरहीन वस्तु वा सेवाबाट क्षाति पुगेको व्यक्तिलाई कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ भन्ने उल्लेख छ ।

संविधानको पालनासँगै मौलिक हकको कार्यान्वयन गर्नु सबै तहका सरकारको दायित्व हुने हुँदा नागरिक अधिकारको रक्षार्थ स्थानीय सरकारहरूले समयसमयमा अनुगमन गर्ने गरेका छन् ।

पत्रकार र मानव अधिकारकर्मी सहित पहिलो पटक अनुगमनमा गएको टोलीले एक पटकलाई सम्झाईबुझाई अखाद्य वस्तु नष्ट गरेको भएपनि आगामी दिनको अनुगमनमा सुधार नगरेमा कारबाही गरिने अनुगमन टोलीका संयोजक तेजबहादुर थापाले बताउनु भयो ।

अनुगमनको क्रममा गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापाले गाउँगाउँका खुद्रा विक्रेताहरु सदरमुकामका होलसेल विक्रेताबाटै ठगिएको पाइएको पनि बताउनु भएको छ । ६ महिना पहिले म्याद गुज्रिएका सामान होलसेल विक्रेताले गाउँका व्यापारीलाई केही दिन पहिले मात्र विक्री गरेको पाइएको उहाँले बताउनु भयो ।

अनुगमनका क्रममा अधिकांश व्यापारीलाई होलसेलबाट सामान खरिद गर्दा विक्री गर्न मिल्ने मिति हेर्नु पर्छ भन्ने समेत जानकारी नभएको पाइएको छ । उनीहरुले आगामी दिनमा विक्री वितरण गर्दा प्रत्येक सामानको म्याद हेर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।


सिर्जना पन्त