इन्सेकलगायत अधिकारकर्मीहरुको पहलमा बालिकाको उद्धार

  ०७८ असोज १३ गते

के.आइ.सिँह गाउँपालिका– ५ की १६ वर्षीया बालिकाको इन्सेकलगायत अधिकारकर्मीको टोलीले असोज १२ गते दिपायल पिपल्ला बजारबाट उद्धार गरेको छ ।

मानसिक समस्या भएकी बालिका झण्डै पाँच वर्षदेखि घर छोडेर दिपायल पिपल्ला क्षेत्रमा बेसाहरा भएर असुरक्षित रुपमा बस्दै आएको जानकारी प्राप्त भएपछि इन्सेकलगायत अधिकारकर्मीहरुको टोलीले प्रहरीसँग समन्वय गरी उद्धार गरेको हो ।

दिपायलको पिपल्ला बजार र सेती नदी आसपासमा घुमन्ते जिवन बिताइ रहेकी बालिका रातिको समयमा पनि नदी किनार र सडकपेटीमा सुत्ने गरेको पाइएपछि उनीमाथि बलात्कारको प्रयास हुनसक्ने भएकोले इलाका प्रहरी कार्यालय, दिपायलसँग समन्वय गरी उद्धार गरेको अधिकारकर्मी तेज डम्रेलले बताउनु भयो ।

बुवा कामको सिलशिलामा वैदेशिक रोजगारमा रहेको र आफूले घरमा राख्ने प्रयास गर्दै आएको भएपनि मानसिक समस्याका कारण छोरीलाई घरमा राख्न नसकेको पीडित बालिकाकी आमा लक्ष्मि मल्लले बताउनु भयो ।

इलाका प्रहरी कार्यालय, दिपायलका सई  रुपसिंह थापा, महिला अधिकारकर्मी पार्वती पार्की, सामाजिक अभियान्ता तेज डुम्रेल र इन्सेक जिल्ला प्रतिनिधि गणेश जोशीले बालिकाको उद्धार गरी के.आइ.सिंह गाउँपालिका–५ का वडाध्यक्ष रामचन्द्र राणा र बालिकाकी आमा लक्ष्मि मल्ललाई जिम्मा लगाइ उपचारका लागि शैलेश्वरी अस्पताल, दिपायलमा भर्ना गरेका छन् ।

मानसिक सन्तुलन गुमाएकाहरुको लामो समयसम्म उपचार गर्नु पर्ने भएकोले आफूहरुले बालिकाको उपचारका लागि सक्दो प्रयास गर्ने  शैलेश्वरी अस्पतालका डाक्टर आइजङ्ग कुँवरले बताउनु भयो ।

आर्थिक अवस्था कमजोर भएकोले उपचार तथा अन्य सहयोगका लागि पहल गरिदिन बालिकाकी आमा लक्ष्मि मल्लले अनुरोध गर्नु भएको छ । बालिकाको प्ररम्भिक उपचार शैलेश्वरी अस्पतालमा भइरहेको छ ।


गणेश जोशी