इन्सेकद्वारा स्थानीय तह निर्वाचनको अनुगमन, ठाउँठाउँमा आचारसंहिता उल्लङ्घन

  ०७९ वैशाख २९ गते

धनुषा प्रतिनिधि दिपेन्द्र प्रसाद सिंहका अनुसार इन्सेक मधेश प्रदेश संयोजक राजु पासवान र राष्ट्रिय महिला आयोगकी सदस्य जया घिमिरेले आज मधेश प्रदेश निर्वाचन अधिकारी श्रीधर पन्थी र जिल्ला निर्वाचन कार्यालयका प्रमुख ब्रजेश प्याकुरेलसँग भेटि स्थानीय तह निर्वाचनको तयारीका बारेमा जानकारी लिएका छन् । स्थानीय तह निर्वाचनका लागि ५ सय ९६ मतदान अधिकृत खटाइ सकिएको र निर्वाचन व्यवस्थापन तथा तयारीका कार्य भइरहेको प्रदेश निर्वाचन अधिकारी पन्थीले बताउनु भयो ।

जिल्ला निर्वाचन कार्यालय प्रमुख प्याकुरेलले कर्मचारी कम रहेकोले व्यवस्थापनमा समस्या भइरहेको बताउनु भयो । तोकिएको र खटाइएको कर्मचारी मतदान केन्द्र तथा स्थलमा नपुगिदिएका सूचना आइरहेको उहाँको भनाई थियो । खर्मचारी अभावका कारण मतदान स्थल तथा मतदान केन्द्र लैंगिकमैत्री बनाउन नसकिएको उहाँले जानकारी दिनु भयो ।

विहान ७ बजेदेखि हुन लागेको स्थानिय तहको निर्वाचन सुरक्षा व्यवस्थाका लागि जिल्लामा २ हजारको संख्यामा नेपाल प्रहरी र ३ हजार १ सय २१ म्यादी गरी ५ हजार १ सय २१ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

जिल्लामा सुरक्षाकर्मीको अभाव भएपछि थप सुरक्षाकर्मी प्रधानमन्त्री कार्यालय र क्षेत्रीय कार्यालयबाट खटाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनु भयो ।

धनुषाको १८ ओटै स्थानीय तहका मतदान केन्द्रहरुमा मतपेटिका, मतपत्र लगायतका सामग्रीहरु पुगिसकेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि सबै मतदानस्थलमा म्यादी प्रहरीसहितको सुरक्षाकर्मी परिचालन गरि सकिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदिप बहादुर क्षेत्रीले बताउनु भयो ।

यसैबिच स्थानीय तह निर्वाचनका लागि धनुषाको बटेश्वर, धनौजी गाउँपालिका र जनकपुर उपमहानगरपालिका लगायत विभिन्न मतदान केन्द्रहरूमा बिहानदेखि नै नयाँ मतदाताहरूका लागि परिचयपत्र वितरण कार्य भएको छ ।

राजनीतिक दलहरुबिच सर्वदलीय बैठक गराई वैशाख २८ गतेदेखि नै मतदाता परिचयपत्र वितरण कार्य गरिएको बटेश्वर गाउँपालिका–१ स्थित लक्ष्मी मावि मतदान केन्द्र (क) का मतदान अधिकृत देवेन्द्र झाले बताउनु भयो ।

जनकपुरधाममा राजनीतिक दलबिच वैठक गर्न ढिलाई भएर वैशाख २९ गतेदेखि मतदाता परिचयपत्र वितरण गरिएको पगलाबाबा धर्मशालास्थित मतदान केन्द्रका सहायक कर्मचारी जितेन्द्र सिंहले बताउनु भयो ।

जिल्लमा कूल मतदाताको सङ्ख्या ४ लाख ६७ हजार ३ सय ८८ रहेको छ । जसमध्ये पुरुष मतदाताको सङ्ख्या २ लाख ४८ हजार ८ सय ४०, महिला मतदाता २ लाख १८ हजार ५ सय ४२ र ६ जना यौनिक तथा अल्पसंख्यक मतदाता रहेका छन् ।

सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार नेकपा माओवादीका कार्यकर्ता गोलबजार नपा–२ का ५५ वर्षीय प्रेम लामालाई गोलबजार नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयले वैशाख २८ गते १२ घण्टे स्पष्टिकरण सोधिएको निर्वाचन अधिकृत शिवप्रसाद आर्चायले बताउनु भयो ।

वैशाख २८ गते नेकपा एमालेले मौन अवधिमा रकम बाडी आचारसंहिता उल्लङ्घन गरेको आरोपमा कारवाहीको लागि उजुरी दिएपछि लामालाई स्पष्टिमरण सोधिएको हो । लामाको जवाफ आएपछि छानविन गरी दोषी ठहरे कारवाही प्रकृया अगाडि बढाउने अधिकृत आर्चायले बताउनु भयो ।

इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर राजु केसीका अनुसार वैशाख २८ गते स्थानीयले रकम बाड्दै गरेको व्यक्तिलाई नियन्त्रनमा लिएको जानकारी गराए पछि प्रहरी टोली घटनास्थल पुग्दा निजसँग ९ हजार रुपियाँ रकम बरामद भएको र निर्वाचन आचारसंहिता उल्लङ्घन भएकोले आरोपितलाई नियन्त्रनमा लिएर निर्वाचन अधिकृतको कार्यालयमा बुझाएको र कार्यालयले स्पष्टिकरण सोधि घर पठाएको बताउनु भयो ।

धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी जनकपुरको सिताशरण होटलबाट मतदाता किन्दै गरेको आरोप लगाएका नेकपा एमाले जनकपुरधाधम नगर कमिटीका अध्यक्ष सुरेन्द्र भण्डारीलाई वैशाख २९ गते गिरफ्तार गरेको छ । अन्सारीले पैसा बाँडेको भन्दै एमाले नेता भण्डारीसहितका १५/२० जना नेता कार्यकर्ताले विरोध गर्दै होटलमा तोडफोड गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदिप क्षेत्रीले आयोगका अध्यक्ष अन्सारी र प्रहरीलाई नै दुर्व्यवहार गरेपछि एमाले नेता भण्डारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताउनुभयो ।

महोत्तरी प्रतिनिधि अजय कुमार साहका अनुसार जिल्लाका सबै मतदानस्थलका मतदान केन्द्रमा मत खसाल्नका लागि तयारी पुरा भएको छ । जिल्लाका १५ स्थानीय तहका २ सय ५८ मतदानस्थलका ४ सय ९७ मतदान केन्द्रमा मतदानलाई व्यवस्थित गरिएको जिल्ला स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतदान कार्य सम्पन्न गर्न हाम्रो सबै जनशक्ति सम्बन्धित मतदानस्थल र मतदान केन्द्रमा काममा लगाइएको मुख्य निर्वाचन अधिकृत दीपकप्रसाद खरेलले बताउनु भयो ।

जिल्लाका सबै मतदानस्थल र केन्द्रको सुरक्षा संवेदनशीलताबारे अध्ययन गरिएको र सो अनुरुप सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले बताउनु भयो ।

इन्सेक सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार देशभरी एकैसाथ वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको एक दिन बाँकी रहदा सप्तरीको सबै १८ पालिकाको २ सय ९७ मतदान स्थलको सम्पूर्ण तयारी पुरा भएको छ ।

रुपनी गाउँपालिका–वडा नम्बर १, ५ र ६ तथा राजविराज नगरपालिका वडा नम्बर–३, ६ र ७ को मतदान स्थलको अनुगमन पश्चात इन्सेक प्रतिनिधी मनोहरकुमार पोखरेलले मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीसँग भेटेर निर्वाचनको तयारीको अवस्थाबारे जानकारी लिनुभएको छ ।

सप्तरीको २ सय ९७ मतदान स्थलमा व्यवस्था गरिएको ५ सय ३६ मतदान केन्द्र निर्माणको काम ९० प्रतिशत पूरा भएको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले बताउनु भयो । यसका लागि तोकिएका ५ सय ३६ मतदान अधिकृत र त्यतिकै सङ्ख्यामा खटिएका सहायक मतदान अधिकृत सहायक कर्मचारी, प्रहरी र म्यादी प्रहरीका साथ आवश्यक सामाग्री लिएर मतदानस्थलमै बास बसेको ज्ञवालीले बताउनु भयो । निर्वाचन सुरक्षित र मर्यादित बनाउन प्रत्येक मतदानस्थलमा ५ नेपाल प्रहरी र १० म्यादी प्रहरी खटाइएको छ ।

मतदानस्थल निर्माणमा खटिएका कर्मचारी, सुरक्षाकर्मीहरूले मतदानस्थलमा मतदानको तयारीका लागि बाँसको खम्बाले घेराबेरा गरेका छन् । मतगणनाका लागि निर्वाचन अधिकृतको कार्यालय रहेको स्थानमा तारजाली लगाइएको छ । मतदान अधिकृतले मतदानलाई सहज बनाउन राजनीतिक दलसँग सर्वदलिय छलफल गरेका छन् भने अन्य सहायक कर्मचारीहरूले नयाँ मतदाता परिचयपत्र, पार्टी प्रतिनिधि परिचयपत्र वितरण गरेका छन् । सर्वदलिय छलफलमा जिल्लास्थित सबै राजनीतिक दलले आसन्न स्थानीय तहको निर्वाचनलाई धाँधलीरहित तथा मर्यादित बनाउन प्रतिबद्धता जनाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

स्थानीय तहको निर्वाचनमा जिल्लाको नौ नगरपालिका र नौ गाउँपालिकामा ४ लाख १२ हजार ४४५ जना मतदातामा पुरुष मतदाताको सङ्ख्या महिलाभन्दा १५ हजार ५३२ बढी रहेको छ । महिला १ लाख ९८ हजार ५३२ जना, पुरुष २ लाख १३ हजार ८९२ जना र २१ अन्य मतदाताले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय सप्तरीका अधिकारी रमेश जोशीले बताउनु भयो ।

जिल्ला प्रशासन कार्यालयले वैशाख २७ गते रातिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री वितरण, सेवनमा रोक लगाए पनि अनुगमनका क्रममा रुपनी गाउँपालिका–६ विरेन्द्रबजारमा खुला रहेको रक्सी पसल बाहिर बसेर नै दुई जनाले मादक पदार्थ सेवन गरिरहेको पाइएको छ ।

photo20220512saptari


इन्सेक मधेश प्रदेश कार्यालय, जनकपुरधाम