इन्सेकद्वारा विद्यालय अनुगमन

  ०७९ पुस २८ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले पुस २७ गते डाक्नेश्वरी नपा–६ स्थित जनता माध्यमिक विद्यालयको अनुगमन गरेको छ ।

डाक्नेश्वरी नगरपालिकामा गठित मानव अधिकार समुह र बाल अधिकार समुहले १० दिनदेखि बन्द विद्यालय यथाशिघ्र सञ्चालनका लागि पुस २७ गते माग गरेपछि इन्सेक मधेस प्रदेशका प्रमुख राजु पासवानको नेतृत्वमा विद्यालयको अनुगमन निरीक्षण गरिएको हो ।

विद्यालयको स्थापना, बाटो बन्दका कारण, पठनपाठन ठप्प हुँदा उत्पन्न असहजता र त्यसको सम्भावित परिणाम र पहलका विषयमा विद्यालय व्यवस्थापन समिति, शिक्षक, जग्गादाता, राजनीतिक दलका प्रतिनिधि, अभिभावक, विद्यार्थीहरूसँग इन्सेक टोलीले छलफल गरेको छ ।

सो क्रममा इन्सेकका प्रदेश प्रमुख राजु पासवानले बालबालिकाको मौलिक हकको संरक्षणका लागि पहल सुरु भइसकेको र सम्बन्धित निकायलाई यथाशिघ्र समाधानका लागि दवाव दिने बताउनु भयो ।

आसपासका १२ टोलका साढे पाँच सय विद्यार्थी अध्ययनरत रहेको विद्यालय अनिश्चितकालिन बन्द भएकोमा चिन्ता व्यक्त गर्नुहुँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रकाश यादवले तत्कालै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको जानकारी दिनु भयो । २०५३ सालदेखि सुचारु रहेको बाटो नम्बरी भन्दै स्थानीय देवनारायण यादवले घेरबेर गरेर बन्द गरेपछि विद्यालयले आवतजावत गर्न बाटो नभएको बाध्यता जनाउँदै पुस १८ गतेदेखि विदा दिदा पठनपनठन पूर्णतया ठप्प भएको छ । कक्षा १२ सम्म पढाई हुने बिद्यालयमा अधिकांश विद्यार्थीहरु दलित विपन्न परिवारको रहेको अभिभावक रामवृक्ष मण्डलले बताउनु भयो ।

सो टोलीमा इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेल, कार्यक्रमका फोकल पर्सन बरुण बस्याल, सहजकर्ता विश्वेन्द्र पासवान, पत्रकार नविन यादवलगायतको सहभागिता थियो ।

 


मनोहरकुमार पोखरेल