इन्सेकद्वारा मानव अधिकारप्रतिको प्रतिबद्धता पूरा हुनेमा विश्वास व्यक्त 

संयुक्त राष्ट्रसङ्घको ७२ औँ महासभाले नेपाललाई मानव अधिकार परिषद्मा निर्वाचित गरेकोमा इन्सेकले नेपाल सरकार र सम्पूर्ण नेपालीमा हार्दिक बधाई ज्ञापन गरेको छ । साथै इन्सेकले मानव अधिकारप्रतिको प्रतिबद्धता पूरा हुनेमा विश्वास व्यक्त गरेको छ ।

'संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रमध्ये कुल ४७ देशका प्रतिनिधि रहने मानव अधिकार परिषद्मा नेपाललगायत १५ नयाँ देशले प्रतिनिधित्व गर्ने अवसर पाएका छन् । मानव अधिकार परिषद् विश्वभरको मानव अधिकारको संरक्षण र प्रवर्धन गर्ने संयुक्त राष्ट्रसङ्घीय निकाय हो । नेपाल सन् २०१८ देखि २०२० सम्मको कार्यकालका लागि एशियाली समूहबाट निर्वाचित भएको हो ।'-इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

'नेपालले अन्तर्राष्ट्रियस्तरमा मानव अधिकारको क्षेत्रमा गरेको प्रतिबद्धताले नै परिषद्मा निर्वाचित हुने अवसर भएको हामीले ठानेका छौँ । नेपालको छवि अन्तर्राष्ट्रिय मञ्चमा बढाउन यसले भूमिका निर्वाह गर्नेछ ।'-विज्ञप्तिमा उल्लेख छ ।

नेपाल संयुक्त राष्ट्रसङ्घद्वारा पारित गरिएका मानव अधिकारसँगसम्बन्धी महत्वपूर्ण सन्धि। महासन्धिको पक्षराष्ट्र हुनुका साथै यसले मानव अधिकारप्रतिको सम्मान र प्रतिबद्धता जाहेर गर्दै आएको इन्सेकले जनाएको छ । तर, जाहेर प्रतिबद्धता अनुरूपका काम हुन नसकेकोमा सरकार आलोचित हुँदै आएको छ ।

'नेपाल सरकारले अन्तर्राष्ट्रियस्तरमा मानव अधिकारप्रति जनाएको प्रतिबद्धताहरूको पालना तथा राष्ट्रिय जिम्मेवारीका बारेमा नेपाल सरकार अझ जागरुक हुनसके यो सफलताको महत्व प्रगाढ हुनेमा हामी विश्वस्त छौँ ।'-विज्ञप्तिमा भनिएको छ ।


अनलाइन डेस्क