इन्सेकद्वारा बाढीपीडितहरूको समस्याबारे प्रशासनसमक्ष ध्यानाकर्षण

जिल्लाका विभिन्न स्थानमा अस्थायी शिविरमा बस्दै आएका बाढीपीडितहरूले भोग्दै आएका समस्या समाधान गर्न इन्सेक सुर्खेतले भदौ २९ गते जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ ।

अस्थायी शिविरमा बस्दै आएका बाढीपीडितहरूसँगको भेटघाटपछि इन्सेक सुर्खेतका प्रतिनिधि दुर्गा थापाले जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलको ध्यानाकर्षण गराएका हुन् ।

अस्थायी शिविरमा बसेको दुई वर्ष बित्दासमेत उनीहरूलाई पुनस्र्थापना, राहत र उचित बासस्थानको व्यवस्था नगरेको सम्बन्धमा इन्सेक सुर्खेतले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको हो ।

स्थानीय प्रशासनले घडेरी खरिद गर्न प्रतिपरिवार ५० हजार रुपियाँ तथा घडेरी खरिदपछि घर निर्माणका लागि ७५ हजार रुपियाँ दिने बताउँदै आएपनि अधिकांश बाढीपीडितहरूले घडेरी खरिदका लागि पाउनुपर्ने ५० हजार रुपियाँ नगद पाएका छैनन् ।

यसैगरी वीरेन्द्रनगर नपा–९ स्थित महिला प्रशिक्षण कार्यालयको शिविरमा बस्दै आएका बाढीपीडितहरूलाई महिला प्रशिक्षण र जिल्ला प्रशासन कार्यालय सुर्खेतले उठाउन खोजेको विषयमा पनि इन्सेकले प्रशासनको ध्यानाकर्षण गराएको छ ।

इन्सेकको ध्यानाकर्षणपछि जिल्लाभरका बाढीपीडितहरूलाई राहत स्वरूप प्रदान गरिने घडेरी खरिदको रुपियाँ उपलब्ध गराउन स्थानीय प्रशासनले तत्काल कदम चाल्ने र महिला प्रशिक्षण कार्यालयको शिविरमा बस्दै आएका बाढीपीडितहरूको उचित व्यवस्थापन नभएसम्म उनीहरूलाई त्यहाँबाट नउठाइने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले प्रतिबद्धता जनाए ।

महिला प्रशिक्षण कार्यालयको हाताभित्र रहेको शिविरमा हाल २७ घर परिवार रहेका छन् भने जिल्लाको विभिन्न स्थानमा करिव २ सय ५० घरपरिवार शिविरमा बस्दै आएका छन् ।


दुर्गा थापा