इन्सेकद्वारा प्रहरी हिरासत अनुगमन

  ०८१ साउन १४ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८१ साउन १४ गते जिल्ला प्रहरी कार्यालयमा रहेको हिरासत अनुगमन गरेको छ । इन्सेक लुम्बिनी प्रदेश कार्यालयका प्रलेख अधिकृत सोम नेपाली, जिल्ला प्रतिनिधि र अधिकारकर्मी गोपाल नेपालीले प्रहरी हिरासतको अनुगमन गरेको हो ।

जिल्ला प्रहरी कार्यालयमा रहेको हिरासतमा २८ जना थुनुवा रहेको जिल्ला प्रहरी कार्यालयका एसपी रामबहादुर केसीले जानकारी दिनुभयो । ती मध्ये २३ जना जिल्ला अदालतबाट म्याद थप गरी राखिएको र पाँच जनाको म्याद थप गर्न बाँकी रहेको एसपी केसीले बताउनु भयो । सो अवसरमा अनुगमन टोलीले थुनुवा कक्षको अवस्था, थुनुवालाई दिइने सुविधाबारे जानकारी लिएको थियो । एसपी केसीले थुनुवाहरूका लागि पुस्तकालयको व्यवस्था गरिएको तर पुस्तक पर्याप्त नभएको, थुनुवा व्यवस्थापन अधिकृतको व्यवस्थापन गरी खटन पटन गरिएको, यातनालाई शून्यमा झारिएको, महिला थुनुवाका लागि छुट्टै थुनुवा कक्षको व्यवस्था गरिएको र थुनुवाको स्वास्थ्य जाँच नियमित गरिएको जानकारी दिनुभयो ।

साथै उहाँले थुनुवाका लागि टेलिभिजनको व्यवस्था गरिएको पनि जाकारी दिनुभयो । एसपी केसीले घरेलु हिंसाका घटनाका पीडितको आपतकालीन आवासका लागि समस्या भएको बताउनु भयो । पतिसँग कुटाइ खाएर उजुरी दिन प्रहरीमा आएको महिलालाई उजुरीपछि पतिकै घरमा बास बस्न पठाउँदा विभिन्न जोखिम भएको उल्लेख गर्दै केही दिन सुरक्षा आवासको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले तत्काललाई महिला सेलमै राखेर न्यायिक प्रक्रिया थालेको जानकारी दिँदै तत्काल सुरक्षा आवासको व्यवस्थापन गर्न सरोकारवालाहरूलाई आग्रह गर्नुभयो ।

अनुगमनका क्रममा जिल्ला प्रहरी कार्यालयका डिएसपी राम तिमल्सिनालगातलाई पनि भेट गरी थुनुवाको मानव अधिकारका विषयमा गम्भीर हुन आग्रह गरिएको थियो । एसपी केसी र डिएसपी तिमिल्सिनाले यातनारहित अनुसन्धानको काम गर्ने प्रतिबद्धता जनाउनु भयो ।

Photo29072024Dang


जयनारायण पुन