इन्सेकद्वारा प्रदेशका विभिन्न जिल्लाका मतदान स्थलहरूको अनुगमन

  ०७९ वैशाख २९ गते

इन्सेक लुम्बिनी प्रदेश कार्यालयले वैशाख २९ गते बाँके जिल्लाका विभिन्न मतदान स्थलको अनुगमन गर्नुको साथै जिल्ला निर्वाचन अधिकारीलाई भेटेर निर्वाचनको तयारीको अवस्थाबारे जानकारी लिएको छ । इन्सेकका सदस्य कृष्णमुरारीप्रसाद भट्ट, अधिकृत विनोद पाण्डे र टेकनाथ आचार्यले मतदान स्थलहरूको अनुगमन गरेका थिए । अनुमगनका क्रममा हावाहुरी र पानीले निम्त्याउन सक्ने जोखिमबाट बच्न टेन्टहरूको व्यवस्था गरेको पाइयो । निर्वाचन स्थलहरूमा मतदाता पत्र वितरण गरिएको, समान्य मतदान शिक्षा प्रदान गरिएको र निर्वाचन स्थलमा कुनै पनि पार्टीहरूको प्रचार प्रसार सामग्री नराखेको पाइयो ।  निर्वाचन अधिकारी रमा पन्तले निर्वाचनका सबै कामहरू करिब करिब सम्पन्न भइसकेको बताउनु भयो ।यसैगरी इन्सेकका संयोजक भोला महतलगायत मानव अधिकारकर्मीको टोलीसँग बेलायती राजदुतावासका मिसन उप–प्रमुख एडवर्ड रोबट्स र सुशासन सल्लाहकार मधु बिश्वकर्माले भेट गरी स्थानीय तह निर्वाचनका बारेमा छलफल गरेको छ ।

photo2022051202banke (1)

इन्सेक कपिलवस्तु प्रतिनिधि पार्वती आचार्यका अनुसार ले कपिलवस्तु नगरपालिका–२ स्थित भगवानदास मावि ठुलो बर्गदवा , बाल मन्दिरको मतदान केन्द्र र वडा नम्बर ४ को यशोधरा माविको मतदान केन्द्रको अनुगमन गरेको छ । स्थानिय तह निर्वाचनको पुर्व सन्ध्यामा माहुरी होमका  रामदयाल ठाकुर , इन्सेक प्रतिनिधि पार्वती आचार्य , माहुरी होमका  निर्देशक लक्ष्मी श्रेष्ठ र जवाफदेहिता निगरानी समितीका प्रतिनिधि पुष्पा रेग्मीको टोलिले अनुगमन गर्नु भएको थियो । अनुगमनका क्रममा मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट सवारी पास लिनेको भुइचो लागेको थियो । सवारी साधनको पास बनाउन आएका नागरिक तथा उम्मेदवारहरू पास कुन निकायबाट प्राप्त गर्ने भन्ने बारेमा अनभिज्ञ रहेको पाइयो । यशोधरा माविमा उक्त मतदान केन्द्रका दुई वटा बुथमा महिला मैत्री निर्वाचन अधिकृत सहितको टोली रहेको पाइयो ।

photo2022051202kapilvastu

पाल्पा प्रतिनिधि यज्ञमूर्ति लिमिल्सिनाका अनुसार बगनासकाली गाउँपालिका–७ खानीगाँउमा स्थानिय तहको निवार्चनको तयारी अन्तिम चरणमा पुगेको छ । इन्सेकका बरुण बस्यालले गरेको स्थलगत अनुगमनमा वैशाख २७ गते सर्वदलिय बैठक राखेर आचार संहिता विपरितका कार्यहरु नगर्न र नगराउन अनुरोध गरेको मतदान केन्द« “क” का अधिकृत टिकाराम न्यौपानेले बताउनु भयो । दुई ओटा मतदान केन्द्र रहेको यस वडाका सबै दलहरुले निवार्चन आचार संहिताको पालना गरेको र मौन अवधि सुरू भएपछि कुनै पनि मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरू नभएको मतदान केन्द्र “ख” का अधिकृत देवराज देवकोटाले बताउनु भयो । उक्त वडामा १ हजार ८ सय ७५ जनाको मतदाता नामावलीमा नाम रहेको छ भने मतदाताहरुको संख्याको पाँच प्रतिशत बढी मतपत्रहरू प्राप्त भएको छ । इन्सेकका पर्यवेक्षक बरुण बस्यालले गर्नुभएको पर्यवेक्षणको क्रममा मतदान केन्द्रको ३ सय मिटर वरपर कुनै पनि राजनितिक दलहरुका झण्डाहरू नरहेको र मतदाताहरूलाई मतदान गर्न सजिलो हुने गरी अपाङ्गता र ज्येष्ठ नागरिक मैत्री मतदान केन्द्र निर्माण गरिएको छ । मतदाताहरूलाई मतदान गर्ने तरिकाहरू समेटिएका सन्देश मूलक सामाग्रीहरू मतदान केन्द्रमा टासिएका छन् । स्थानियहरू आपसमा भेला भएर राजनितिक बिचारहरू आदान प्रदान गरेको पाइएको छ ।

photo2022051201palpa

बर्दिया प्रतिनिधि मानबहादुर चौधरीका अनुसार  बर्दियामा स्थानीय तहको निर्वाचनका लागि शान्ति सुरक्षाका सम्पूर्ण तयारी पुरा भएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताउनु भयो । जिल्ला भरी २ हजार ७ सय जना सुरक्षाकर्मी परिचालन गरिएका छन् । बास्तोलाका अनुसार मतदान स्थलको सुरक्षा नेपाल प्रहरीले गर्नेछ, त्यसपछिको घेरामा सशस्त्र प्रहरी र मोबाइल टिम रहने, अन्तिम घेरामा नेपाली सेना र मोबाइल टिम रहने व्यवस्था गरिएको छ । सुरक्षा जनशक्ति अपुग भएपछि बाहिरबाट २ सयको जना  नेपाल प्रहरी र ३ सय जना नेपाली सेना आएको बास्तोलाले बताउनु भयो । भारतीय सुरक्षाकर्मीहरूसँग समन्वय गरेर बर्दियाको सीमानाका ७२ घण्टाका लागि बन्द गरिएको छ । जिल्ला भरी ३ सय ७१ मतदान केन्द्र रहेका छन् । जिल्ला भरी मतदान स्थलमा मतदान केन्द्र निमार्ण पनि भएरहेका छन् । वर्षा हुन सक्ने सम्भावनालाई मध्य नजर गर्दै मतपेटिका, मत पत्र सुरक्षाका लागि टेन्ट, प्लाष्टिक, बिद्यालय भवन कोठाको नजिकै मटपेटिका राख्ने व्यवस्था मिलाएको देखिन्छ । जिल्लाका आठ वटै निर्वाचन अधिकृतको कार्यालयले मत गणनाका लागि सिसि क्यामरा जडान र जाली लगाएर सुरक्षित तरिकाले मत गणनाका व्यवस्थापन गरेको छ ।

photo2022051201bardiya

प्यूठान प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार जिल्लाका सबै स्थानिय तहमा रहेका मतदान केन्द्रहरूमा निर्वाचनको तयारी पुर्ण रुपमा सम्पन्न भएको छ । मतदाताको परिचय पत्र वितरण ,राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिबिच  निर्वाचनको तयारी बारे सर्वदलीय बैठक गरी मतदानको लागि तयारी अवस्थामा मतदान केन्द्र तयार गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख राजन श्रीवास्तवले बताउनु भयो । मतदातालाई भयरहित बातावरणमा मतदान गर्न र मतदान स्थल वरपर शान्ति सुरक्षाको व्यवस्था पुर्ण रुपमा मिलाएको जिल्ला प्रहरी प्रमुख डिएसपी सत्यनारायण थापाले जनाकारी दिनुभयो ।

photo2022051201gulmi

गुल्मी, प्रतिनिधि टोपलाल अर्यालका अनुसार जिल्लाका अधिकांश स्थानमा मतदान स्थल बनाउने काम सम्पन्न भएको छ । जिल्लाको मालिका, सत्यवति, कालिगण्डकी र चन्द्रकोटमा ठुलो पानी परेकाले केहि मतदान स्थलमा काम अपरान्हबाट सुरू भएको छ । मतदान स्थलहरूबाट मतदाताका परिचयपत्र वितरण गर्ने र सामान्य मतदाता शिक्षा दिने काम भइरहेको पाइएको छ । पानी परिरहेकाले त्रिपालसहितको मतदान स्थल निर्माण गरिएको कुवंरले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय गुल्मीका अनुसार विभिन्न स्थानीय तहमा केहि विवाद आएपनि स्थानीय स्तरमै समाधान गरिएको छ । पाँच तहमा सुरक्षाकर्मीहरुको परिचालन गरेर सुरक्षा व्यावस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले जानकारी दिनुभयो ।

रुपन्देही, प्रतिनिधि रिमा बिसीका अनुसार सैनामैना नपा–३ स्थित पर्रोहा स्वास्थ्य चौकीले स्वास्थ्य चौकी अन्तरगतका सम्पूर्ण सेवाहरु बैशाख २७ गते बिहान १० बजेदेखि ३१ गते १० बजेसम्मका लागि सम्पूण सेवाहरु बन्द गरिएको सूचना टाँस गरी जानकारी गराएको छ ।इन्सेक रुपन्देही र राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय बुटवलले बैशाख २९ गते गरेको अनुगमनमा यस्तो पाइएको हो । स्वास्थ्य चौकीका अधिकांश कर्मचारीहरु स्थानीय तहको बैशाख ३० गते हुन गैरहेको निर्वाचनमा खटिएको भन्दै स्वास्थ्य चौकीका सम्पूर्ण सेवाहरु बन्द गरी अस्पतालमा तालाबन्दी गरिएको छ । ।पर्रोहा स्वास्थ्य चौकी २४ घण्टे सुत्केरी सेवा ̷ बर्थिङ्ख सेन्टर सेवा रहेका स्वास्थ्य संस्था हो । प्रसूति सेवा जस्तो संवेदनशिल संस्था बन्द गरेर आम नागरीकको स्वास्थ्यप्रति सरकार संवेदनशिल नभएको सेवाग्राहीहरु बताउँछन् । मान्छेको स्वास्थ्यप्ति खेलवार्ड गरिनु मानवीय संवेदनशिल नभएका कारण सेवा बन्द गरेको स्थानीय महिला विमला क्षेत्रीले बताउनुभयो ।   सरकार आम नागरीकको स्वास्थ्यप्रति कत्तिको जिम्मेवारी छ भन्ने कुरा यहीबाट प्रष्ट हुन्छ । अझ प्रसूति जस्तो संवेदनशिल सेवा बन्द गर्नु जनताको पक्षमा नभएकोले अगामी दिनमा यो विषयमा ध्यान दिन र संवेदनशिल बन्न निर्वाचन आयोगलाई आग्रह गर्नुभयो ।

यसैगरी इन्सेक रुपन्देही र राष्ट्रिय मानवअधिकार आयोगले संयूक्त रुपमा  रुपन्देहीका विभिन्न मतदान केन्द्रहरूको वैशाख २९ गते अनुगमन गरेको छ । लुम्बिनी साँस्कृतिक नपा–६ स्थित तेनुहवा सामुदायिक माविमा रहेको मतदान केन्द्र, लुम्बिनी साँस्कृतिक नपाको प्रमुख निर्वाचन अधिकृतको कार्यालय, कोटहीमाई गाउँपालिका–१ सिपवास्थित लालविहारी माविको मतदान केन्द,सम्मरीमाई गाउँपालिकाका–७ वेतकुईयाँ श्री कृषक आदर्श मावि  मतदान केन्द्र, सम्मरीमाई गाउँपालिका–६ को मनझरिया आधारभूत विद्यालयमा रहेको मतदान स्थल,मर्चवारी गाउँपालिकाको प्रमुख निर्वाचन अधिकृतको कार्यालय र मर्चवारीकै श्रीमती मनराजीदेवी उच्च मावि मतदान केन्द्र र मत गणनास्थलको समेत अनुगमन गरिएको थियो । अनुगमनका क्रममा रुपन्देहीका अधिकांश मतदान केन्द्रहरू साँधुरो रहेको, गोप्य मतदान गर्नुपर्ने व्यवस्था भएपनि मतदान केन्द्रहरू खुल्ला र जोखिम खालको भएको, मतदाताहरू मतदानको लागि पस्ने र निस्कने बाटो एउटै भएको, कतिपय मतदान स्थलमा खाने पानी र बत्तीको व्यवस्थापनमा समस्या भएको पाइयो ।

 

photo2022051201kapilvastu


इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज