इन्सेकद्वारा निर्वाचन आयोगसमक्ष स्थानीय तह निर्वाचन–२०७९ पर्यवेक्षण प्रारम्भिक प्रतिवेदन पेश

  ०७९ वैशाख ३१ गते

इन्सेकले निर्वाचन आयोगसमक्ष वैशाख ३० गते साँझ नै स्थानीय तह निर्वाचन–२०७९ पर्यवेक्षण प्रारम्भिक प्रतिवेदन पेश गरेको छ ।

इन्सेकले छिटफुट वादविवाद, केही झडप तथा आचारसंहिता उल्लङ्घनका घटना बाहेक शान्तिपूर्ण रूपमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको जनाएको छ ।

निर्वाचन आयोगबाट पर्यवेक्षण अनुमति प्राप्त गरेका आफ्ना २ सय ३४ जना पर्यवेक्षकले देशभरका २ सय ५० भन्दा बढी मतदानस्थलको अनुगमन गरेको जनाउँदै इन्सेकले विगतका निर्वाचनजस्तै यस निर्वाचनमा पनि अपाङ्गता भएका मतदाताले केही स्थानमा मतदान गर्न कठिनाइ भोग्नु परेको जनाएको छ ।

photo20220513kathmandu1

मतदान केन्द्रहरू अपाङ्गतामैत्री नभएको, बाँकेको राँझास्थित आदर्श माविमा अपाङ्गता भएका मतदातालाई ह्वीलचेयर लैजानबाट वञ्चित गरेको पनि इन्सेकले प्रतिवेदनमा औँल्याएको छ ।

‘काठमाडौं लगायत अन्य केही मतदान केन्द्र साँघुरो भएका कारण मतदान कार्य ढिला हुनुका साथै मतदातालाई अप्ठ्यारो भएको पाइयो ।’-इन्सेकले प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरेको छ-‘भक्तपुरका केही मतदान केन्द्रमा अस्तव्यस्त र भद्रगोल व्यवस्थापन भएको पाइयो ।’

अघिल्लो निर्वाचनका लागि मतदाता परिचयपत्र लिएका मतदाताको क्रम सङ्ख्या फरक हुँदा नाम खोज्न समय लागेको र यसले मतदान प्रक्रियामा ढिलासुस्ती भएको पनि इन्सेकले जनाएको छ ।

प्रतिवेदन बुझ्दै निर्वाचन आयोगका उपसचिव कमल भट्टराईले पर्यवेक्षण गर्ने संस्थाहरूमा प्रारम्भिक प्रतिवेदन बुझाउने इन्सेक पहिलो संस्था भएको बताउनु भयो ।

उहाँले भन्नु भयो-'प्रतिवेदनमा औँल्याइएका विषयमा आयोगले अध्ययन गरी आवश्यक कारवाही गर्नेछ । यहाँहरूको सुझाव ग्रहण गरी सकेसम्म निर्वाचनको स्वच्छतामा ध्यान दिइनेछ ।'

photo20220513kathmandu


अनलाइन डेस्क