इन्सेकद्वारा दाङ कारागारको अनुगमन

  ०७३ पुस ५ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले दाङको मानव अधिकारको अवस्थाबारे पुस ५ गते जिल्ला कारागारसहित विभिन्न सरकारी निकायको अनुगमन तथा भेटघाट गरेको छ ।

इन्सेक केन्द्रीय कार्यालय, क्षेत्रीय कार्यालय तथा जिल्ला प्रतिनिधिसहितको टोलीले जिल्ला कारागारको अनुगमन, प्रहरी तथा महिला बालबालिका कार्यालयमा पुगेर जिल्लाको मानव अधिकारको अवस्था कैदीबन्दीको अवस्थाका बारे जानकारी लिएको हो ।

केन्द्रीय कार्यालयकी उन्नती केसी र क्षेत्रीय कार्यालयकी सरस्वती मल्ल तथा जिल्ला प्रतिनिधि जेएन सागर संलग्न टोलीले जिल्ला कारागारका कैदीबन्दीसँग भेट गरी उनीहरूको न्यूनतम आवश्यकता र कारागार व्यवस्थापनका विषयमा अनुगमन गरेको थियो ।

टोलीले कैदीबन्दीलाई बस्ने ठाउँको समस्या हुँदा त्रिपालमुनि बस्नु परेको, दैनिक भत्ताको रकम खान पनि नपुग्ने रहेको पाइएको जनाएको छ ।

५० जनाको क्षमता रहेको कारागारमा हाल २ सय ४ जना कैदीबन्दी बस्न वाध्य भएको र अत्याधिक मानवीय चापलाई व्यवस्थापन गर्न समस्या रहेको टोलीसमक्ष कारागार प्रशासनले जनाएको छ । कारागारका निमित्त जेलर निमानन्द रिजालले क्षमता भन्दा बढी कैदीबन्दी हुँदा समस्या भएको बताए ।

यसैगरी टोलीले जिल्ला प्रहरी कार्यालय दाङका एसपी धिरजप्रताप सिंहसँग भेट गरी जिल्लाको मानव अधिकारको अवस्थाबारे छलफल गरेको थियो । सो अवसरमा एसपी सिंहले लैङ्गिक हिंसाका घटना प्रहरीमा आउने क्रम बढेको बताए ।

उनले दाङमा बलात्कारका घटना धेरै नै रहेको र सचेतनाका कारण घटना उजागर हुन थालेको बताए । यसैगरी महिला तथा बालबालिका कार्यालयकी निरीक्षक पार्वती रानाले महिला हिंसाका घटना वृद्धि भएको र समस्या समाधानका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताइन् ।


जे एन सागर