इन्सेकद्वारा खोपकेन्द्र अनुगमन- भीडभाडले कोभिड–१९ सङ्क्रमणको जोखिम, लाइनमा बसेपनि खोप लगाउन नै नपाइने चिन्ता !

साउन १४ गते विहिबार । मध्यान्हको १२ बजे । फुङलिङ नगरपालिका–५ स्थित उद्योग वाणिज्य सङ्घको भवनमा कोभिड–१९ विरूद्धको खोप लगाउने नागरिकहरूको भीड । वीरेन्द्रचोकदेखि खोप केन्द्रसम्म नागरिकहरूको दुई ओटा लाइन । भवन जाने बाटोको दाहिनेतर्फ महिला र देव्रेपट्टि पुरूषको उत्तिकै लामो लाइन । कोभिड–१९ विरूद्ध खोप लगाउन पालो कुरेर लाइनमा उभिएकाहरूले न भौतिक दुरी नै कायम गर्न सकेका थिए, न चुस्त व्यवस्थापन नै ।

घण्टौँ कुरेर भएपनि खोप लगाउने पालो आउने आशामा लाइनमै उभिएको हुनुहुन्छ, फुङलिङ नगरपालिका–५ का ३४ वर्षीय शैलेन्द्र गुरुङ । उहाँको हातमा सवारी चालकको लाइसेन्स र नागरिकताको फोटोकपि छ । गुरुङले भन्नुभयो“डेढ घन्टाजति भयो उभिएको । हेरौ, अब त्यति नै समयमा पालो आउँला कि !” फुङलिङ नगरपालिका–२ का ३५ वर्षीय सुरेन्द्र बस्नेत, पेशाले शिक्षक हुनुहुन्छ । उहाँले भन्नुभयो “सुरक्षाका लागि खोप लगाउन आइयो । राम ! राम ! कतिञ्जेल पर्खेर खोप लगाउनु ।” लाइनमा उभिएका प्राय जसो सबैमा कोभिड-१९ को सङ्क्रमण होला कि भन्ने डर त थियो नै, खोप पनि नपाइएला कि भन्ने चिन्ता पनि उत्तिकै !

खोप लगाउन पालो कुरेर लाइनमा बसेकाहरूको भीडमा फुङलिङ नगरपालिकाका नगर उपप्रमुख बमबहादुर भट्टराई(तारा) भने मान्छेको उपस्थिति अवलोकन गर्न तथा व्यवस्थापन गर्न व्यस्त हुनु हुनुहुन्थ्यो । उपप्रमुख भट्टराईले भन्नुभयो “लाइनमा उभिएका जतिलाई खोप पुग्छ । अब यो भन्दा पछाडि लाइनमा बस्न आए नबस्न अनुरोध गर्छु ।” ६ सय जनालाई पुग्ने गरिको पहिलो डोजको खोप भएकाले उहाँले खोपको आशामा बसेकाहरूलाई लाइनमा नबस्न सूचित गराइ रहनु भएको थियो । फुङलिङ नगरपालिका–५ का ४३ वर्षीय राम गुरुङले भन्नुभयो “कतिपयले लाइनमा उभिएकासँग सोधपुछ गरेर थाहा पाएलगत्तै आफन्तलाई खोप लगाउन आउन अनुरोध गरेको पाइयो ।

जनप्रतिनिधि तथा सर्वसाधारणले खोप व्यवस्थापनप्रति असन्तुष्टि प्रकट गरे । फुङलिङ नगरपालिका–९ का वडाध्यक्ष तारानाथ बरालले व्यवस्थापन कमजोर भएको स्वीकार गर्नुभयो । अध्यक्ष बरालले भन्नुभयो “खोप व्यवस्थापनमा हामी फेल भयौँ । अबका दिनमा यो गल्ती सुधार गर्छौ ।” नगरपालिकाले कोभिड–१९ विरूद्धको भेरोसिल खोपको दोस्रो डोज लगाउने भनेर पहिलो डोज पनि लगाएकोमा सर्वसाधारणले जनप्रतिनिधि आक्रोश व्यक्त गरे । लाइनमा उभिएकाहरूले भने भेरोसिल खोपको पहिलो डोज लगाउने सूचना नै जारी गरेनन् ।

अरूबेला स्थानीय सञ्चारमाध्यममा खोप बारेमा सूचना प्रकाशन तथा प्रसारण हुने गरेको भएपनि कोभिड–१९ विरूद्धको खोपमा विषयमा सूचना नै नभएको फुङलिङ नगरपालिका–५ का ४२ वर्षीय शुक्र राईले गुनासो गर्नु भएको छ । उहाँले भन्नुभयो- नागरिकको स्वास्थ्यसँग जोडिएको खोप जस्तो महत्वपूर्ण विषयमा पनि सम्बन्धित निकायले लापरबाही गर्दा धेरै नागरिक खोपबाट वन्चित भएका छन् ।

khoppp

Photo 20210729 Taplejung (1)

Photo 20210729 Taplejung (2)

Photo 20210729 Taplejung (3)

Photo 20210729 Taplejung (4)

Photo 20210729 Taplejung (5)

Photo 20210929 Taplejung


देवराज गुरुङ