इन्सेकद्वारा कोभिड खोप केन्द्रको अनुगमन, लक्षित वर्गले कोभिड विरूद्धको खोप नपाएको गुनासो

  ०७८ साउन ५ गते

इन्सेकले दाङ, कपिलवस्तु र बाँके जिल्लामा साउन ४ गते कोभिड खोप केन्द्रहरूको अनुगमन गरेको छ । लुम्बिनी प्रदेशका  दाङ , रुपन्देही, बाँके, कपिलवस्तु लगायतका जिल्लामा साउन ३ गतेदेखि साउन ५ गतेसम्म कोभिड विरूद्धको खोप सञ्चालन गरिएको छ ।  दाङ जिल्लामा लक्षित वर्गले खोप लगाउन नपाएको गुनासो गरेका छन् ।

दाङ प्रतिनिधि जयनाराण पुनका अनुसार इन्सेकले साउन ४ गते खोप केन्द्रहरूमा गरेको अनुगमनका क्रममा लक्षित वर्गले कोभिड विरूद्धको खोप नपाएको गुनासो गरेका छन् । व्यवस्थापन कमजोरीका कारण लक्षित वर्गले कोभिड विरूद्धको खोप लगाउन नपाएको, केही खोप केन्द्रमा  प्रयाप्त खोप उपलव्ध नभएका कारण र केही मा कर्मचारीहरूले आफन्त र नजिकका मानिसहरूलाई खोप लगाएका कारण घण्टौं लाइन लागेका लक्षित नागरिकहरू खोप नपाएर घर फर्किएका थिए । दुई घण्टा टन्टलापुर घाममा लाइनमा बसे पनि खोप समयमै नआउँदा घर फर्किएको तुलसीपुर उपमनपा– ५ का ५६ वर्षीय दलवीर विकले बताउनु भयो ।

photo2021072001dang

तुलसीपुर उपमनपा –५ को बसपार्क, वडा नम्बर–१० र ११ मा समयमा खोप पुग्न नसकेपछि लाइन लागेका नागरिकहरुलाई घर फर्काइएको तुलसीपुर उमनपाका स्वास्थ्य शाखा प्रमुख ओमपी न्यौपानेले बताउनु  भयो । दाङमा खोप भण्डारण क्षमता कम भएको र बुटवलबाट ल्याउँदा ढिला भएको उहाँको भनाइ रहेको छ ।

तुलसीपुर उमनपामा साउन ४ गते  १ हजार ७ सय खोप ल्याइएको थियो ।  साँझ अबेर गरी आएकाले  एउटा खोप केन्द्रमा १ सय २५ वटा मात्रै खोप पठाएको थियो । कर्मचारीहरूले आफन्त र नजिकका मानिसहरूका नाम लेखाएर खोप  लगाए पछि घोराही उमनपा –१५ स्थित भरतपुर खोप केन्द्रमा लक्षित वर्ग र व्यवस्थापन पक्षबिच विवाद भएको थियो ।

घोराही उमनपा स्वास्थ्य शाखाका प्रमुख नारायणप्रसाद घर्तीले खोपको माग धेरै र आपूर्तिमा समस्या हुँदा विवाद भएको बताउनु भयो । उहाँले लक्षित वर्गभन्दा बाहिरकाले पनि खोप लगाउन आउँदा समस्या भएको बताउनु भयो । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुमवाङले गाडीको व्यवस्थापन नभएका कारण समयमै खोप पुयाउन नसकिएको बताउनु भयो । “हाम्रोमा खोप भण्डारण गर्ने क्षमता पनि छैन । गाडी नभएकाले म आफै चढ्ने गाडी पनि खोप बोक्न पठाए, यसको व्यवस्थापन गर्छौ ।’ प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले भन्नु भयो । दाङमा ३४ हजार खोप भण्डारण क्षमता रहेको छ । हाललाई ३५ हजार बढीलाई खोप लगाइने योजना रहेको छ ।

कपिलवस्तु  प्रतिनिधि पार्वती आचार्यका अनुसार जिल्लामा ३४ हजार ३४ डोज खोप आएको र त्यसको लागि सिमित उमेर समूह र पेशा तोकिएकोमा सोही अनुसार खोप सेवा दिन जिल्लाका ९६ स्थानमा खोप सञ्चालन गरिएको छ । साउन ३ गतेदेखि  साउन ५ गतेसम्म खोप लगाइने प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताउनु भयो ।

photo2021072002kapilvastu

इन्सेकले बुद्धभुमि नगरपालिकाको बुड्ढी स्वास्थ्य चौकी र बाणगङ्गा नगरपालिका खोप केन्द्रको अनुगमन गरेको छ । अनुगमनका क्रममा  खोप लगाउने  लक्षित समूहको भिड लागेको,  दृर्घरोगीहरूले समेत खोप लगाएको, खोप लगाउन आउदा परिचय पत्र अनिवार्य गरेको पाइयो । बुद्धभुमि नगरपालिकामा दोस्रो दिन २ हजार ९४ जनाले खोप लगाएका थिए ।

सरकारले ५५ वर्ष माथिका उमेर समूहका व्यक्ति तथा औषधि पसल, फलफूल, तरकारी पसल, खाद्यान्न पसल, होटल रेष्टुरेन्ट सञ्चालक, पेट्रोलियम ढुवानी र सार्वजनिक यातायात चालक, सह चालक, शिक्षक, विदेश जान भिषा प्राप्त व्यक्ति र पहिलो प्राथमिकतामा परेका तर छुटेका व्यक्तिहरूलाई पहिलो खोप लगाइएको  पाइयो ।

photo2021072001banke

बाँके प्रतिनिधि स्मृति देवकोटाका अनुसार जिल्लामा   साउन ३ गते देखि साउन ५ गतेसम्म खोप सञ्चालन गरिएको छ ।  स्थानीय तहहरूको वडामा रहेको खोप केन्द्रको साउन ४ गते अनुगमन गरिएको छ । अनुगमनका क्रममा ५० वर्ष माथिका उमेर समूह, पहिलो प्राथमिकतामा परेका तर छुटेका व्यक्तिहरूलाई प्राध्यापक, शिक्षक, कर्मचारी, सार्वजनिक यातायातका चालक, सहचालक, नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा सङ्लग्नहरूले खोप लगाइएको पाइयो ।


इन्सेक, लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज