इन्सेकद्वारा कास्की जिल्ला कारागारको अनुगमन

  ०८० भदौ ११ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश संयोजक शिव खकुरेलको नेतृत्वमा अधिकारकर्मी सहितको टोलीले २०८० असोज ११ गते कास्की जिल्ला कारागारको स्थलगत अनुगमन गरेको छ ।

कारागारको स्थलगत अनुगमनको क्रममा कारागारका प्रमुख र चौकीदार नाइकेहरू तथा कैदीबन्दीहरुसँग छलफल गरी कारागार तथा कैदीबन्दीहरूको अवस्थाको बारेमा जानकारी लिइएको हो ।

जिल्ला कारागारको क्षमता  ४ सय २० जनाको भएपनि असोज ११ गतेसम्म ७ सय १० जना कैदी बन्दी रहेको कारागार प्रमुख राजेन्द्र शर्माले बताउनुभयो । जुन कारागारको क्षमता भन्दा दोब्बर संख्या हो । जसमध्ये महिला तर्फ ४३ जना रहेका छन् भने पुरुष  तर्फ जम्मा ६ सय ६४ जना कैदीबन्दी रहेका छन् । आश्रित बालबालिका तीन जना रहेका छन् । कारागार प्रमुख शर्माले कार्यालयको संरचना जीर्ण हुँदा सुरक्षाको दृष्टिकोणले सम्वेदनशिल रहेको बताउनुभयो । साथै उहाँले कार्यालयको पनि उचित भौतिक संरचना नहुँदा १२/१३ जना कर्मचारी कोचिएर काम गर्नुपरेको सुनाउनुभयो ।

कारागारका चौकीदार नसिब गुरुङले दुबै ब्लकमा क्षमता भन्दा बढी कैदी बन्दी राखिएकोले एउटै कोठामा ८० जनासम्म कोचिएर बस्नुपर्ने समस्या रहेको र पुरानो तथा जीर्ण भवनका कारण  चुहिने गरेको र भवन भत्किने त्रासमा कैदी बन्दी बस्नु परेको उहाँले बताउनुभयो । साथै दैनिक दिइने ८० रुपियाँ सिधा अहिलेको महङ्गीमा पर्याप्त नभएको गुनासो गर्नुभयो ।

कारागारमा पुस्तकालय भएपनि प्रयाप्त पुस्तकहरु नभएको नाइके दिनेश क्षेत्रीले बताउनुभयो । उहाँले कारागारमा कैदीबन्दीहरुले परीक्षा दिन नपाएको सुनाउनुभयो । ‘यो वर्षदेखि पढ्नको लागि भर्ना हुनुभएका भाइहरुले परिक्षा दिन पाउनुभएन । परीक्षा नियन्त्रण कार्यालयले यसवर्षदेखि परिक्षा दिन पाउने व्यवस्था हटायो । त्यो सुविधालाई यथावत राख्नुपर्छ भन्ने हाम्रो माग छ,’ नाइके दिनेश क्षेत्रीले भन्नुभयो ।

कारागारमा स्वास्थ्य उपचार, पानी, शौचालयको समस्या मुख्य रहेको जेलर शर्माले बताउनुभयो । कैदीबन्दीको संख्या अनुसार एम.बि.बि.एस डाक्टर तथा महिला स्वास्थ्यकर्मीको व्यवस्था हुनुपर्नेमा  एक जनामात्र सि. अहेबको दरबन्दी रहेको छ ।

औषधि उपचारको लागि पर्याप्त स्रोत नभएकाले समस्या रहेको सि. अहेब तपरमण पोखरेलले बताउनुभयो । उहाँका अनुसार कारागारमा मनोरोगी संख्या बढ्दो रहेको र मनोपरामर्शकर्ताको व्यवस्था नभएकोले समस्या रहेको बताउनुभयो । उहाँले कारागारमा टिभीका १९, एचआइभीका तीन, मनोरोगी २१, सुगर प्रेसरका ५३, मुटु दमका पाँच र छालाका बिरामी १ सय ३० जना रहेको बताउनुभयो । कारागारमा भाइरल ज्वरो आएका बेला सामान्य औषधिको अभाव हुने गरेको उहाँको भनाई छ । ‘केन्द्र सरकारले चालु आर्थिक वर्षका लागि ११ लाख बजेट विनियोजन गरेको छ । यो त आर्थिक वर्ष सुरु भएको केही समयमा सकिन्छ । अप्रेसन, नियमित उपचारका लागि बजेट निकै अभाव छ,’ उहाँले भन्नुभयो ।

इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले कारागारका समस्याहरुका बारेमा सम्बन्धित निकायहरुसँग पहल गर्ने बताउनुभयो । उहाँले मनोमरामर्श लगायतका तत्काल आवश्यक रहेका कुरालाई सम्बन्धित निकायसँग पहल गरेर सहजिकरण गर्ने बताउनुभयो ।

प्रदेश सरकारका मुख्यमन्त्रीहरुले बारम्बार आएर अनुगमन गरेपनि प्रदेश सरकारको दायित्व भित्र नपर्दा बजेट लगाएतका कुराहरु कारागारको प्रथामिकतामा नपरेको प्रमुख शर्माले बताउनुभयो ।

382320165_327830536578934_5332874518040008771_n (1)384210202_716918890256961_6395827944485452746_nकास्की कारागार (2)Photo 1 (6)


इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखरा