इन्सेकको पहलमा महिला कामदारले ज्याला पाए

  ०७९ भदौ ३० गते

ठूलीभेरी नगरपालिका–३ मा पर्ने रुपगाड खोला माथिको निमार्णधिन बेलिव्रिज पुलमा काम गर्दै आएका महिला कामदारले इन्सेकको पहलमा समान कामको समान ज्याला पाएका छन ।

रुकुम पश्चिमको आठवीसकोट नपा–४ गोतामकोटकी ४१ वर्षीया निरमाया विक, ३५ वर्षीया रुप्सी विक र ४० वर्षीया मैना ठकुरीले आफुहरूलाई ज्यालामा विभेद गरेको भन्दै ठेकेदार ५५ वर्षीय रेमान खड्का विरुद्व ०७९ साउन २५ गते प्रहरी चौकी कालागौडामा निवेदन दिनु भएको थियो ।

पीडितको निवेदनपछि साउन २६ गते ज्यालामा विभेद भोग्नु परेको महिला कामदारको गुनासो शिर्षकमा इन्सेक अनलाइनमा समाचार प्रकाशित भएको थियो ।

यस विषयमा इन्सेक प्रतिनिधिले जिल्ला प्रहरी कार्यालयका प्रमुखसँग निरन्तर फलोअप गरेपछि प्रहरीले दुई पक्ष बीच छलफल गराउन खोजेपनि ठेकेदार जिल्लाबाहिर भएकाले छलफल हुन सकेको थिएन । जिल्ला प्रहरी कार्यालयमा ०७९ भदौ २२ गते आफुहरू र ठेकदारलाई समेत राखेर जिल्ला प्रहरी कार्यालयले छलफल गराएको महिला कामदार निरमाया विकले बताउनु भयो ।

अपुग रकम थप्ने र पुलमा कार्यरत सबैलाई विभेद नगरी समान ज्याला दिने प्रतिवद्धता गर्नुका साथै महिला कामदारलाई दिन बाँकी रकम समेत ठेकेदारले जिल्ला प्रहरी कार्यालयमा बुझाएको डीएस्पी निरन्जन थापाले बताउनु भयो ।


विष्णुप्रसाद देवकोटा