इन्सेकको पहलमा बोटेचौरमा तीन दिने स्वास्थ्य शिविर सम्पन्न

इन्सेकद्वारा सञ्चालित इएलपी कार्यक्रम अन्तर्गत गठित गुर्भाकोट नपा-४, ५ र ९ वडास्तरीय मानव अधिकार निगरानी समूहको आयोजना तथा बजार व्यवस्थापन समिति बोटेचौरको समन्वयमा बोटेचौरमा स्वास्थ्य तथा सरसफाई विषयक बृहत अन्तरक्रिया गरिएपछि लगत्तै चिकित्सकसहितको टोलीले गुर्भाकोट नपामा तीन दिने स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

गुर्भाकोट नपामा पछिल्लो समयमा स्वाइन फ्लु 'एचवान एनवान' लगायतका सङ्क्रमण रोग देखापरेपछि मानव अधिकार निगरानी समूहको अगुवाईमा भदौ २८ गते स्वास्थ्य तथा सरसफाई विषयक बृहत अन्तरक्रिया गरेपछि तत्काल लगत्तै चिकित्सकसहितको टोलीले मानव अधिकार निगरानी समूहका पदाधिकारीको उपस्थितिमा असोज १ देखि ३ गतेसम्म शिविर संचालन गरेको हो ।

गुर्भाकोट नपा, क्षेत्रीय स्वास्थ्य निर्देशनालय, जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेत र विश्व स्वास्थ्य सङ्गठन शाखा नेपालगञ्जको समन्वयमा सम्पन्न शिविरमा विश्व स्वास्थ्य सङ्गठन शाखा नेपालगञ्जका चिकित्सक किरण बास्तोलासहितको स्वास्थ्यकर्मीको टोलीले स्वाइन फ्लु रोगबाट सङ्क्रमित तीनजनालाई घरमा गई स्वास्थ्य परीक्षण गर्नुको साथै औषधि खुवाएको थियो ।

सो क्रममा स्वास्थ्यकर्मीको टोलीले बोटेचौरमा तीन दिनसम्म स्वास्थ्य तथा सरसफाईसम्बन्धी पर्चा पम्पलेटिङ, घरदैलो भेटघाट तथा जनचेतनामुलक र्‍याली प्रदर्शन गर्नुको साथै स्वाइन फ्लुबाट बच्ने उपायका बारेमा स्थानीयवासीलाई जानकारी दिएको थियो । स्वाइन फ्लुबाट केही दिन अघि गुर्भाकोट नपा-९ बोटेचौरमा एक व्यक्तिको मृत्यु भएपछि यहाँ स्वाइन फ्लुको सन्त्रास फैलिएको थियो ।

मानव अधिकार निगरानी समूह र बजार व्यवस्थापन समिति बोटेचौरको आयोजनामा बोटेचौरमा सम्पन्न स्वास्थ्य तथा सरसफाईसम्बन्धी बृहत अन्तरक्रियाबाट बोटेचौरमा पछिल्लो समयमा स्वाइन फ्लु लगायतका सङ्क्रामक रोग फैलिएको जानकारी पाएपछि त्यहाँ स्वास्थ्य शिविर सञ्चालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका सूचना अधिकृत बसन्त श्रेष्ठले बताए ।


दुर्गा थापा