इन्सेकको पहलमा बालकको उद्धार

  ०८१ असार २४ गते

दैलेख जिल्ला नौमुल गाउँपालिका–४ स्थित उत्तीसेनीका १७ वर्षीय बालक सुमन बुढा मगरको इन्सेकको पहलमा असार २३ गते उद्धार भएको छ । ०८१ जेठ ३२ गते घरबाट हिडेर धन कमाउने भन्दै नाम्खा गाउँपालिका–६ स्थित लिमिमा पुगेका बालकको इन्सेकको पहलमा उद्धार भएको हो ।

घरबाट जाजरकोट जिल्लाका मानिसहरूसँग हुम्ला पुगेर जडीबुटी सङ्कलन गरेर आर्थिक आम्दानी गर्ने भन्दै घरमा आमालाई छोडेर साथीहरूको सङ्गतमा हुम्ला पुगेको बालकले बताउनुभयो । तर आफुलाई साथीहरूले बीचमै छोडेर अलपत्र पारेको गुनासो गर्नुभयो ।

पछिल्लो एक सातादेखि अन्य क्षेत्र जस्तै जिल्लामा पनि अविरल वर्षाले जनजीवन निकै प्रभावित बनाएको छ । वर्षाले जनजीवन प्रभावित पार्नुका साथै एक ठाउँबाट अर्को ठाउँमा समेत जान नसकि रहेको समयमा बालक अलपत्र परेको इन्सेकलाई असार २३ गते सिमकोट गाउँपालिका–७ का पौँजे सिंहले जानकारी गर्नुभयो ।

स्थानीय सिंहले जानकारी गरे अनुसार बालकलाई नाम्खाको हिल्सादेखि स्थानीयको सहयोगमा सदरमुकाम सिमकोट पुर्याउन सफल भएपछि इन्सेक जिल्ला प्रतिनिधिले असार २३ गते बालकलाई घरसम्म पुग्नका लागि जिल्ला प्रशासन कार्यालय लगायत अन्य विभिन्न कार्यालयमा पहल गर्नुभयो ।

तर अविरल वर्षाका कारण एक हप्तादेखि जिल्लामा हवाई सेवा भने बन्द छन् । बालकलाई सदरमुकाम सिमकोटमा गास, बास र कपासको समेत समस्या भएको अवस्थामा पनि इन्सेक जिल्ला प्रतिनिधि सिंहको पहलमा सोही दिनदेखि पुर्वधार विकास कार्यालयले होटेलको व्यवस्था गरिदिएको थियो । मौसम सुधारपछि जिल्ला बाहिर पठाउनका लागि समिट एयर सिमकोटका स्टेशन इन्चार्ज गोविन्द लामाले निशुल्क रुपमा घर पठाउने प्रतिवद्धता जाहेर गर्नुभयो ।

त्यस्तै इन्सेककै पहलमा राष्ट्रिय वाणिज्य बैँकले करिब १० हजार रुपियाँ बराबर रकमको लुगाहरू सहयोग गर्याे । हाल बालक सदरमुकाम सिमकोटको पामा होटेलमा व्यवस्थापन गरिएको छ । इन्सेकको पहलले बालकलाई मौसम सुधार लगतै दैलेखसम्म पठाउने तयारी रहेको प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले बताउनुभयो ।


नन्द सिंह