इन्सेकको पहलमा पीडित बालकको उद्धार

  ०७८ जेठ १५ गते

इन्सेक सोलुखुम्बुको पहलमा सोताङ गाउँपालका–५ बाट १७ वर्षीय बालकको उद्धार गरिएको छ । लामो समयदेखि आफ्नै बाबुबाट पीडित बनेका १७ वर्षीय बालकको उद्धार इन्सेकको पहलमा गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी कवित कटवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार जेठ १४ गते इलाका प्रहरी कार्यालय सोताङको टोलीले पीडित बालकलाई उद्धार गरी परिवारको मञ्जुरीमा मामा घरमा राखिएको छ ।

वीरेन्द्रज्योती मावि सोताङको कक्षा ९ मा अध्ययनरत बालकलाई मादक पर्दाथ सेवन गरी बाबुले पटकपटक कुटपिट गर्ने गरेको पीडित बालककी आमाले इन्सेक जिल्ला प्रतिनिधिलाई जेठ १३ गते उजुरी दिएकी थिइन् ।

पीडित बालकको भविष्यको लागि आफू साउदीमा रहेको भएपनि ३८ वर्षीय बाबुको कुटाइबाट छोराको हात समेत भाँचिएको र बारम्बार मादक पदार्थ सेवन गरी कुटपिट गर्दा बालकको ज्यान बचाउन उद्धार आवश्यक रहेको भनी इमेलमार्फत निवेदन दिएपछि इन्सेकले उद्धार प्रक्रिया अगाडि बढाएको थियो ।

निवेदन प्राप्त भएलगत्तै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा सोही दिन उजुरी दिएर सोताङ गाउँपालिका उपाध्यक्ष लक्ष्मी कार्की (बस्नेत), वडा अध्यक्षसहित अन्य व्यक्तिहरूको रोहवरमा जेठ १४ गते बलकको उद्धार गरेर मामाघरमा राखिएको छ ।

कोभिड महामारीको अवस्था सामान्य भएपछि बालबालिका संरक्षित संस्थामा लगिने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी कवित कटवालले बताउनुभयो ।

यसअघि पनि आरोपितबाट बालक पीडित भएको इन्सेकको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय सोताङले गिरफ्तार गरी घटना नदोहोर्‍याउने शर्तमा छाडिएको प्रहरीले जनायो ।


भोजराज कार्की