इन्सेकको पहलमा द्वन्द्व पीडितका बालबालिकालाई शैक्षिक सहयोग प्रदान

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुर्खेतको पहलमा जिल्ला बालकल्याण समिति सुर्खेतले माओवादी पूर्व लडाकुका दुई नाबालक छोरालाई ०७४ साउन २ गते शैक्षिक सहयोग प्रदान गरेको छ ।

गुर्भाकोट नपा-९ स्थित बोटेचौर बजारमा बसोबास गर्दै आएकी माओवादीका अशक्त पूर्व लडाकु ३२ वर्षीया लुसी बिकका ११ वर्षीय समर बिक र ७ वर्षीय सरल बिकलाई जिल्ला बालकल्याण समितिले शैक्षिक सहयोग स्वरुप प्रतिव्यक्ति ४ हजार रुपियाँका दरले ८ हजार नगद प्रदान गरेको हो ।

आफ्नै कार्यकक्षमा सो रकम प्रदान गर्दै जिल्ला बालकल्याण समितिका बालअधिकार अधिकृत रमा भण्डारीले सशस्त्र द्वन्द्वबाट प्रभावित बालबालिकाको पुनःस्थापना तथा पुनःएकीकरण परियोजना अन्तर्गत शान्ति तथा पुननिर्माण मन्त्रालयको सहयोगमा आर्थिक वर्ष ०७३/०७४ को बजेट शीर्षकबाट सो रकम प्रदान गरिएको बताइन् ।

सशस्त्र द्वन्द्वको क्रममा पाल्पालगायतका विभिन्न स्थानमा भएका भिडन्तमा परी अङ्गभङ्ग भएकी लुसीले ०७३ फागुन ११ गते इन्सेक सुर्खेतसमक्ष आफ्ना दुई नाबालक छोरालाई छात्रवृत्ति उपलब्धका लागि पहल गरिदिन निवेदन दिएकी थिइन् ।

उक्त निवेदनपछि इन्सेक सुर्खेतको पहलमा जुम्लाबाट सुर्खेतको गुर्भाकोट नपा-९ मा बसाइसराई गरी बोटेचौर बजारमा बसोबास गर्दै आएकी लुसी बिकको परिवारलाई गुर्भाकोट नपा-९ को वडा कार्यालयबाट सुर्खेतको बासिन्दा भएको हो भनी सिफारिस पत्र ल्याउने विषयमा सहयोग गरिएको थियो ।

बसाईसराईको सिफारिस र इन्सेक सुर्खेतले जिल्ला बाल कल्याण समितिमा गरेको पहलपछि आफ्ना नाबालक छोराले सो रकम पाएको लुसी बिकले बताइन् । बिकका पति राजेन्द्र उपाध्याय माओवादीका पूर्व लडाकु रहेका थिए । उनी पनि सशस्त्र द्वन्द्वका घाइते हुन् ।


दुर्गा थापा