इन्सेकको पहलमा चंखेलीका प्रकोप पीडितले पाए राहत

  ०७९ चैत ३ गते

अनौपचारिक क्षेत्र इन्सेक (इन्सेक) को नियमित पहलमा चंखेली गाउँपालिकाले प्रकोप पीडितलाई राहत सहयोग गरेको छ । गएको असोज १९ गते परेको अबिरल वर्षासँगैको बाढी पहिरोबाट ज्यान गुमाएका बाढी पीडितहरूका घर परिवार र गएको जेठ १८ गते लागेको आगलागी पीडितहरूका लागि गाउँपालिकाले राहत वितरण गरेको हो ।

गाउँपालिकाले गत कात्तिक महिनामा पीडितहरूलाई राहत दिने निर्णय गरेको थियो । तर लामो समय वितिसक्दा पनि पीडितले राहत नपाएपछि निर्णय गरेदेखि हालसम्म पटक पटक गरेर चार पटक इन्सेक प्रतिनिधिले चंखेली गाउँपालिका अध्यक्ष प्यारिलाल शाहीलाई राहत उपलव्ध गराउन मौखिक रुपमा अनुरोध गरेपछि पीडितहरूले राहत पाएका हुन् ।

पीडितहलाई राहत छिटो उपलव्ध गरिनु पर्छ भन्दै इन्सेक प्रतिनिधिले मौखिक रुपमा अनुरोध गराएपछि सो राहत उपलव्ध भएको गाउँँपालिकाका सुचना प्रविधि अधिकृत ताराबहादुर कार्कीले बताउनु भएको छ ।

लगातार एक हप्ता परेको अविरल वर्षासँग गएको बाढी पहिरोमा परेर चंखेली गाउँपालिका–६ मेल्छामका देउच्या कामीको घर भत्कदा घरका चार जनाले ज्यान गुमाएका थिए । पहिरो पीडित देउच्याका परिवारलाई गाउँपालिकाले फागुन २० गते दुई लाख ५० हजार, आगलागी पीडित  कर्णबहादुर शाहीलाई दुई लाख, आगलागी पीडित जयबहादुर शाहीलाई तीन लाख रुपियाँ आर्थिक सहयोग गरिएको गाउँँपालिका अध्यक्ष शाहीले बताउनु भएको छ ।

पहिरो पीडित घरपरिवारलाई मृतक कालीबहादुर शाहीको क्रिया खर्च २५ हजार, मृतक गोरबहादुर बुढाको क्रिया खर्च स्वरूप २५ हजार रुपियाँ हस्तान्तरण गरिएको अध्यक्ष शाहीले बताउनु भएको छ ।

पहिरोमा परेर देउच्या कामीकी कान्छी आमा ५५ वर्षीय तुलसा कामी, नौ वर्षीय छोरी सुस्मिता कामी, पाँच वर्षका छोरा बबन कामी र तीन वर्षीया छोरी होईजाली कामीको मृत्यु भएको थियो । पहिरो गए लगत्तै स्थानीयको सहयोगमा बाबू देउच्या कामी, श्रीमती अबकति कामी, छोरीहरू निरू कामी, ममिता कामी र एक वर्षको छोरालाई उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेतमा उपचार गराइएको थियो ।

त्यसै गरी सोलार व्याट्रीको तार सट भएर शुरु भएको आगलागीमा परेका चंखेली गाउँपालिका–४ पिप्लाङका तीन घर पूर्ण रुपमा जलेर नष्ट भएका थिए । आगलागीमा परेर चंखेली गाउँपालिका–४ को पिप्लाङका कर्णबहादुर शाहीका दुई घर, जयबहादुर शाहीको एक घर जलेर खरानी भएको थियो ।

उनीहरू सबैलाई इन्सेककै पहलमा राहत उपलव्ध हुन सफल भएको आगलागी पीडित जयबहादुर शाहीले बताउनु भएको छ । राहतपछि उहाँले इन्सेकको पहलप्रति धन्यवाद समेत दिनु भएको छ ।

 


नन्द सिंह