गाउँ निकाला गरिएकी पीडितलाई इन्सेककाे पहलमा व्यवस्थापन

  ०८१ असार १ गते

कर्जन्हा नगरपालिका-५ की २५ वर्षीया रामसुनैर सदालाई इन्सेक जिल्ला प्रतिनिधि दुर्गा परियार र मुक्ति नेपालकी अध्यक्ष देवकुमारी महराको पहलमा ०८१ असार १ गते व्यवस्थापन भएको छ ।

कर्जन्हा नगरपालिकाका नगर प्रमुख भोला प्रसाद पोखरेलले महिलालाई पालिकाले बनाएको सामुदायिक भवनमा व्यवस्थापन गर्नु भएको छ भने उहाँलाई चाहिने आवश्यक खाद्यान्न लगायत अन्य सामग्रीहरू पालिकाले बेहोर्ने गरी व्यवस्थापन गर्नु भएको छ । साथै हावा पानीबाट बच्न त्रिपाल लगायत अन्य सामाग्रीकाे व्यवस्थापन र पीडितलाई सहयाेग गर्न नगर प्रमुखले वडा सदस्यलाई निर्देशन दिनु भएको छ ।

पीडितलाई गाउँनिकाला गर्ने दोषीमाथि कारबाही प्रक्रिया अगाडि बढाउन इलाका प्रहरी कार्यालय कर्जन्हाका असईलाई पनि नगर प्रमुख पाेखरेलले निर्देशन दिनु भएको छ ।

पीडित आठ दिनकी सुत्केरी हुन । पीडितलाई पति मनि सदायले छोडेर भागेका छन । पीडितको आठ दिनको बच्चा सहित चार छोरा र एक छोरी रहेको छ । चार ओटा बच्चा पति मनि सदायकाे भएको र पछिल्लो बच्चा पति रोजगारीको लागि भारत गएको बेला सोही वडाका प्रदिप महराको भएको आरोप रहेको छ । आठ महिनाको गर्भ भएपछि पति लगायत अन्य गाउँलेहरूले छलफल गरी आरोपित महरासँग ६० हजार रुपियाँ लिएर पति पत्नीले स्थानीय बजारमा मासु पसल सुरु गरेका थिए । तर, पैसा सकिएपछि एक महिना अगाडि पतिले छोडेर गएपछि पीडितलाई स्थानीयहरूले गाउँमा बस्न नदिने भन्दै गाउँबाट बाहिर निकालि दिएका थिए । गाउँ निकाला पछि पीडित गाउँबाट बाहिर एउटा छाप्रोमा चार ओटै बच्चा सहित बस्दै आइरहेकी थिइन ।

त्यस्तै, सुत्केरी हुने दिन नजिकिदै जाँदा गाउँकै केही महिलाहरू पीडितलाई माथि छाना मात्र भएको गाउँकै खुल्ला सामुदायिक भवनमा ल्याएर सुतकेरी गराइदिएका थिए । सुत्केरी भए पनि पीडितसँग खान, बस्न, सुत्नकाे लागि राम्राे प्रबन्द्ध नभएकोले मनकारीहरूले दिएको खाना खाएर बसेको सूचना पाएका गंगाजल एफएमका सरोज पासवानले घटनालाई सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए ।

उक्त सूचनाको आधारमा इन्सेक प्रतिनिधि र मुत्ति नेपालका अध्यक्षले जेठ ३१ गते गाउँमा गई घटनाको जानकारी लिनुका साथै घटनाकाे जानकारी नगरप्रमुख, उप प्रमुख र वडा अध्यक्षलाई गराएका थिए । जेठ ३२ गते मुक्ति नेपालले पीडितलाई चामल, दाल, नुन तेल, साबुन कपडा, झुल लगायतका सामग्री प्रदान गरेको थियो । असार १ गते नगरप्रमुख भोला प्रसाद पोखरेललाई घटनाको जानकारी पाउनासाथ तत्काल पीडितकाे व्यवस्थापन गर्ने निर्देशन दिनु भयाे । घटना बारे मलाई जानकारी थिएन, जानकारी गराएकोमा इन्सेकलाई धन्यबाद दिदै महिलाको व्यवस्थापन गर्ने प्रतिबद्धता जायर  गर्नु भयाे ।


दुर्गा परियार