इन्सेकको पहलमा एक महिलाको उद्धार

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनुषा जिल्ला प्रतिनिधिको पहलमा सिरहा जिल्ला मिर्चैया नगरपालिका-६ की २३ वर्षीया बिबहा महतोलाई राम जानकी हस्पिटल जनकपुरधामबाट ०८१ जेठ १७ गते उद्धार गरिएको छ ।

पीडित महतोलाई जेठ १७ गते इन्सेक धनुषा जिल्ला प्रतिनिधि, न्युज टाइम्स टेलिभिजनका सञ्चालक अनितेश यादव, द नोटिस नेपालका पत्रकार वीरेन्द्र पासवान र जानकी प्रहरी चौकीका सई सन्तोष बुढाथाेकीको सहयोग तथा समन्वयमा उद्धार गरिएको हो ।

पति पत्नीबीच जेठ ११ गते सामान्य विवाद हुँदा विष सेवन गरेकी महतोलाई सोही दिन सिरहास्थित मिर्चैया अस्पतालमा उपचारको लागि लगिएको थियो । उक्त अस्पतालमा पीडितको उपचार हुन नसकेपछि थप उपचारको लागि जनकपुरधामस्थित राम जानकी अस्पतालमा भर्ना गरिएको थियो ।

गरिब तथा विपन्न परिवारकी महतोले उपचार तथा औषधि खर्च तिर्न नसक्दा विगत चार दिनदेखि बन्धकको अवस्थामा अस्पताल मै रहेकी थिइन् । उपचार खर्च जुटाइदिन वा बन्धकबाट मुक्त गरिदिनु हुन पीडितका पति रोहित महतोले इन्सेक धनुषा जिल्ला प्रतिनिधिलाई फोन मार्फत जानकारी गराउँदै न्यायको लागि पहल गरिदिन अनुरोध गर्नुभएकाे थियाे । साेही आधारमा इन्सेक धनुषा जिल्ला प्रतिनिधि सन्ताेषकुमार यादवले पहल गरेपछि उहाँको उपचार खर्च मिनाहा गरी मुक्त गराएका छन् ।

पीडित महतोले उपचार खर्च बापत ६४ हजार रुपियाँ तिर्नु पर्ने भएपनि पीडित पक्षले फार्मेसीको १८ हजार रुपियाँ बुझाएको छ । इन्सेकको पहलमा तिर्न बाँकी रहेकाे ४६ हजार रुपियाँ अस्पताल प्रशासनले छुट गरेको छ ।

पीडितलाई उद्धार गरी परिवारको जिम्मा लगाई घर पठाएको इन्सेक धनुषा जिल्ला प्रतिनिधि सन्तोष यादवले जानकारी गराएका छन् ।


सन्तोषकुमार यादव