इन्सेकको पलहमा मानसिक रोग पीडित महिलाले पाउनु भयो नागरिकता

  ०७८ भदौ २३ गते

इन्सेकको पलहमा बारबर्दिया नगरपालिका६ की मानसिक रोग पीडित महिला ३७ वर्षीया लिला वली खत्रीले भदौ २१ गते नागरिकता प्रमाण पत्र प्राप्त गर्नु भएको छ ।

वलीको ०५८ फागुन २२ गते सोही ठाउँका चित्रबहादुर खत्रीसँग विवाह भएको थियो । विवाह भएको २० वर्षसम्म नागरिकता नपाएका कारण अपाङ्गता भएको रातो परिचय पत्रबाट वन्चित हुनु हुन्थ्यो ।

घरको आर्थिक अवस्था कमजोर भएका कारणले मानसिक रोगको उपचार गराउन नसक्दा सात वर्षदेखि सांङ्गलोले बाँधिएर बस्नु परेको थाहा पाएपछि इन्सेक जिल्ला प्रतिनिधिको नेतृत्वमा मानव अधिकार समूहको टोलीले भदौ १८ गते उहाँलाई राखिएको स्थान बाँसगढी नगरपालिका९ चिसापानी टोल पुगेर अवस्थाको जानकारी लिएको थियो ।

मानसिक रोगको कारण अन्य व्यक्तिको सहारा लिन पर्ने अवस्था भएपछि लिला वली बाँसगढी नगरपालिका९ चिसापानी टोलमा आमा सितली वलीसँगै माइतीको स्याहारमा बस्दै आउनु भएको थियो ।

पीडितकी आमाले इन्सेक प्रतिनिधिलाई नागरिकता र अपाङ्गताको परिचय पत्र र अन्य सहयोगका लागि पहल परिदिन भदौ १८ गते निवेदन दिनु भएको थियो ।

पीडितपक्षको आग्रह पछि जिल्ला प्रतिनिधि मानवहादुर चौधरी मानव अधिकार समूहकी सदस्य जुना खड्काले बाँसगढी नगरपालिका९ का वडा अध्यक्ष जयबहादुर चन्द, बारबर्दिया नगरपालिका६ का वडा अध्यक्ष कर्णबहादुर बिक र जिल्ला प्रशासन कार्यालय गुलरियाका प्रशासकीय अधिकृत नारायणप्रसाद ढकालसँग भेटेर आवश्यक प्रक्रिया अगाडि बढाउन सहयोग गर्नु भएको थियो ।

अपाङ्गताको रातो परिचय पत्र बनाएर राज्यले दिने सुविधा लिन सक्ने भएपनि नागरिकता नभएका कारणले परिचय पत्र पाउन सक्नु भएको छैन ।

बारबर्दिया नगरपालिका६ का वडा अध्यक्ष कर्णबहादुर विकले ०७८ असोज ५ गते भित्र लिला वलीलाई रातो परिचय उपलब्ध गराउनका लागि वडा कार्यालयबाट निर्णय गरी तत्काल फाइल अगाडि बढाउने पनि प्रतिबद्धता गर्नु भएको छ ।


मानबहादुर चौधरी