इन्सेकको निर्वाचन पर्यवेक्षक टोलीद्वारा महोत्तरीका सरोकारवालाहरुसँग छलफल

  ०७९ कात्तिक २७ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को निर्वाचन पर्यवेक्षकहरुको एक टोलीले कात्तिक २७ गते महोत्तरी जिल्लाका सरोकारबालाहरुसँग छलफल गरेका छन् ।

इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानको नेतृत्वमा रहेको इन्सेक महोत्तरी प्रतिनिधि अजयकुमार साह, धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंह, इन्सेकका कार्यक्रम फोकल पर्सन बरुण बस्याल, वोरेकका महोत्तरी कार्यक्रम संयोजक तथा इन्सेकका निर्वाचन पर्यवेक्षक लिला दियाली, मानव अधिकार रक्षक संजाल महोत्तरीका सल्लाहकार तथा पत्रकार रञ्जन भण्डारी सहितका टोलीले निर्वाचनको सन्दर्भमा प्रमुख जिल्ला अधिकारी दीपक पहाडी, डिएसपी सन्तोषकुमार पोखरेल, जलेश्वर कारागारका प्रमुख रामचन्द्र साह लगायतसँग भेटघाट गरी निर्वाचनको तयारी बारे जानकारी लिइएको थियो ।

टोलीलाई प्रमुख जिल्ला अधिकारी पहाडीले निर्वाचनको लागि कर्मचारी व्यवस्थापनको काम जिल्लामा सकिएको जानकारी दिनु भयो । प्रमुख जिल्ला अधिकारी पहाडीका अनुसार जिल्लाका सबै मतदानस्थल र मतदान केन्द्रका लागि ४ हजार ५ जना जनशक्ति परिचालन गरिएको छ ।

“जिल्लाका चार निर्वाचन क्षेत्रको लागि २ सय ५८ मतदानस्थलका ४ सय ९९ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्र सहित ५ सय १ वटै केन्द्रका लागि मतदान अधिकृत सहितका आवश्यक जनशक्ति व्यवस्थापन गरिएको छ”–प्रमुख जिल्ला अधिकारी पहाडीले भन्नु भयो,–आज कात्तिक २७ गते खटिएका कर्मचारीलाई अभिमुखीकरण तालिम दिएर नियुक्ति दिँदै सम्बन्धित केन्द्रमा पठाइएको छ ।’

जिल्लाभरिमा तोकिएका मतदान केन्द्र र दुई अस्थायी केन्द्र (सैनिक ब्यारेक र कारागार) मा मतदान कार्यका लागि दक्ष जनशक्ति व्यवस्थापन भएको छ ।

मतदान केन्द्रको मतदाता संख्या र संवेदनशीलतालाई मध्यनजर गरिँदै तीन देखि आठ जनासम्मको जनशक्ति खटाइएको डिएसपी सन्तोषकुमार पोखरेलले जानकारी दिनु भयो ।

क्षेत्रगतरूपमा प्रतिनिधि सभा क्षेत्र–१ मा ९ सय ८३, क्षेत्र नं. २ मा १ हजार १९, क्षेत्र नं. ३ मा १ हजार २७ र क्षेत्र नं. ४ मा ९ सय ७६ कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जलेश्वरले जानकारी दिएको छ । यसका अतिरिक्त सुरक्षा प्रबन्धका लागि जनशक्ति परिचालित गरिएको छ ।

कर्मचारी खटनपटनसँगै सबै मतदान केन्द्रमा मतदान सामग्री (मतपत्र र अन्य बन्दोबस्तीका समान) पुगेको जनाइएको छ । सबै मतदान केन्द्रका लागि आवश्यक जनशक्ति र सामग्री बन्दोबस्तको काम सकिएपछि अब मतदान पूर्वतयारीको काम (मतपत्र प्याकिङ, सर्टिङ, रुजु र शिलबन्दी) भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत महेन्द्र झाले जानकारी दिनु भयो ।

चार प्रतिनिधि सभा र आठ प्रदेश सभा क्षेत्र रहेको जिल्लामा आसन्न मङ्सिर ४ को निर्वाचनका लागि ३ लाख ९७ हजार ३० मतदाता छन् । तीमध्ये सबैभन्दा बढी क्षेत्र नं ३ मा ९९ हजार ९ सय ३० छन् ।

यसैगरी क्रमशः क्षेत्र नं २ मा ९९ हजार ७ सय ७, क्षेत्र नं ४ मा ९८ हजार ८ सय ९६ र क्षेत्र नं १ मा ९८ हजार ४ सय १७ मतदाता कायम रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यसैबिच जलेश्वर कारागारका प्रमुख रामचन्द्र साहले कारागारमा रहेका २४ जना कैदीबन्दीले मतदान गर्ने टोलीलाई जानकारी दिनु भएको छ । सोको लागि कारागारमै व्यवस्थापन गरिने उहाँको भनाई थियो । कारागारको क्षमता १ सय ३५ जनाको रहेपनि हाल कारागारमा १ सय २१ कैदी र ४ सय ८ बन्दी गरी ५ सय २९ कैदीबन्दी रहेका छन् ।

photo20221115mahottari (1)

photo20221115mahottari (2)

f


अजयकुमार साह