इन्सेकको निरन्तर पहलमा द्वन्द्व पीडितले राहत रकम पाए

सशस्त्र द्वन्द्वको क्रममा राज्य पक्षबाट हत्या गरिएका राप्तीसोनारी गाउँपालिका-५ साविकको विनौना गाविस-९ आलीनगरका ४० वर्षीय उमलाल कामीको परिवारले इन्सेकको निरन्तर पहलपछि साउन १० गते मृतककी पत्नी सीता बिकले १० लाख रुपियाँ राहत पाएकी छन् ।

SAMSUNG CAMERA PICTURES

स्थानीय शान्ति समिति बाँकेले ०६८ जेठ ४ गते उमलाल कामीको घटना सम्बन्धमा पुष्टि भई निजका नजिकको हकदार कायम गरी राहत माग गर्न शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको थियो । स्थानीय शान्ति समितिले उक्त निर्णय गरेपनि पीडित परिवारले राहतका लागि आवश्यक पर्ने कागज-पत्र पेश गर्न नसक्दा राहत पाउन सकेका थिएनन् ।

Photo20180726Banke

घरको आर्थिक अवस्था कमजोर रहेकी सीताले ०७१ माघ २० गते द्वन्द्व पीडितको सिफारिस गरी राहतका लागि आवश्यक पहल गरिदिन इन्सेक नेपालगञ्जमा निवेदन दिएकी थिइन् । इन्सेकमा निवेदन दिएपछि ०७१ माघ २६ गते गाविसको सिफारिस र विवाह प्रमाणित गराएपछि माघ २७ गते इन्सेक नेपालगञ्जले स्थानीय शान्ति समिति बाँकेलाई सिफारिस गरेको थियो ।

इन्सेकको पहलमा ०७१ फागुन १ गते उमलाल कामीको घटनास्थल सुर्खेत जिल्लाको मेहलकुनाबाट स्थलगत सर्जिमिन मुचुल्का तयार गरिएको थियो । स्थलगत सर्जिमिन पश्चात ०७१ फागुन ३ गते स्थानीय शान्ति समिति बाँकेमा फाइल खडा गरी पीडितलाई निवेदन दिन इन्सेकले पहल गरेको इन्सेक नेपालगञ्जका संयोजक भोला महतले बताए ।

Photo20180726Banke1

सुर्खेत जिल्लाको साविकको मेहेलकुना गाविस-१ बाट ०६१ असार १५ गते गिरफ्तार गरी सोही दिन हत्या गरिएको इन्सेकद्वारा प्रकाशित द्वन्द्व पीडित पार्श्वचित्रमा उल्लेख रहेको छ । सीताका ६ छोरी र एक छोरा रहेका छन् ।


विनोद पाण्डे