इन्सेकको निरन्तर पहलपछि हिंसा तथा कुठरोग पीडितको उद्धार

कुष्ठरोगी भएको कारण गाउँले र घरपरिवारले १२ वर्षदेखि ओढारमा राखिएकी ७० वर्षीया गोला शाहीका पक्षमा इन्सेकलगायतका संस्थाले निरन्तर पैरवी गरेपछि उनको उपचारका लागि उद्धार गरिएको छ ।

Photo20170711Humla

शाहीको उपचारका लागि काडमाडौँ पठाउन असार २५ गते हेलिकप्टरमार्फत सिमकोटसम्म उद्धार गरिएको थियो भने असार २६ गते ललितपुर गोदावरी नगरपालिकाको टिकाभैरवस्थित आनन्द वन अस्पतालमा पठाइएको छ ।

शाहीलाई ओढारबाट बोक्ने मानिस तथा घोडा नपाएपछि इन्सेक प्रतिनिधि र अन्य विभिन्न निकाय तथा व्यक्तिको सहयोगले हेलिकप्टरबाट उद्धार गरि सिमकोटसम्म पुर्‍याइएको हो । गत असार १३ गतेदेखि इन्सेक र अन्य सञ्चार माध्यममा प्रकाशित र प्रशारित समाचारले उनलाई सहयोग गर्नको लागि विभिन्न सहयोगदाता आइरहेका छन् ।

उद्धारको लागि इन्सेक प्रतिनिधि नन्द सिंह, महिला विकास कार्यालयका कर्मचारीको टोली, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य नवराज महतारा, पत्रकार महासङ्घ हुम्लाका अध्यक्ष अर्जुन बोहोरा, नयाँ पत्रिका दैनिकका हुम्ला सम्वाददाता नरजङ तामाङ, जिल्ला स्वास्थ्य कार्यालय, हुम्लाका प्रतिनिधि सन्तोष धामी, लबी रावत, महिला विकास कार्यालयकी रितु कर्ण र कल्पना लामाले पहल गरेका थिए ।

उद्धारका लागि जिल्ला प्रशासन कार्यालयबाट ७ हजार, इन्सेकबाट १ हजार, जिल्ला पशु सेवा कार्यालयबाट ३ हजार, जिल्ला समन्वय समितिबाट १० हजार, महिला तथा बालबालिका कार्यालयबाट ५ हजार, जिल्ला स्वास्थ्य कार्यालयबाट ७ हजार र महिला कल्याण सेवाबाट ५ हजारलगायत रकम जम्मा गरेर हेलिकप्टर र प्लेन भाडामा खर्च गरिएको छ ।

गोडामा सङ्क्रमित भएकी शाहीको प्राथमिक उपचार गरी थप उपचारका लागि उद्धार गरिएको हो । उद्धारपछि उपचार हुने थाहा पाएकी पीडित शाहीले नयाँ जीवन पाउने आशा पलाएको बताएकी छन् ।


नन्द सिंह