इन्सेकको टोलीद्वारा मतदान केन्द्रको अनुगमन

  ०७९ वैशाख २९ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको टोलीले वीरेन्द्रनगर नपास्थित विभिन्न मतदान स्थलहरूको वैशाख २९ गते स्थलगत अनुगमन गरेको छ ।

टोलीले वीरेन्द्रनगर नपा ७ स्थित पदमलिला प्रावि, श्रीकृष्ण संस्कृत तथा साधारण मावि, वडा नं ८ स्थित बालमन्दिर प्रावि र वीरेन्द्रनगर नपा ३ स्थित हरिडिलभुमि माविको मतदान स्थलहरूको स्थलगत अनुगमन गरेको हो । अनुगमनको क्रममा श्रीकृष्ण संस्कृत तथा साधारण माविमा खटिएका मतदान अधिकृत सुर्वण खडकाले विद्यालयको कक्षा कोठा भित्र नै मतदान गर्ने गरी व्यवस्थापन गरिएको र मतदाता परिचय–पत्र वितरण कार्य भईरहेको बताउनु भयो । तीनवटा मतदान केन्द्र तोकिएको सो माविको मतदान स्थलमा ८ सय ६८ जना मतदाता रहेको खडकाले जानकारी दिनुभयो ।

बालमन्दिर प्राविका मतदान अधिकृत दीपा हमालले सो मतदान स्थलमा सबै महिला कर्मचारीहरू खटिएको र बर्षातको कारण मतदानस्थल व्यवस्थापन गर्न समस्या देखिएको बताउनु भयो । मतदाता परिचय–पत्र लिन आउने क्रम जारीरहेको र मतदाता परिचय–पत्र वितरणका साथ मतदाता शिक्षा प्रदान गरिएको हमालले उल्लेख गर्नुभयो ।

पाँचवटा मतदान केन्द्र रहेको हरिडिलभुमि माविमा कुल ५ हजार ८० जना मतदाता रहेको मतदान अधिृकत प्रकाश पौडेलले जानकारी दिनुभयो । मतदान स्थलबाटै मतदाता परिचय–पत्र वितरणको व्यवस्था मिलाइएपनि नागरिकताको आधारमा मतदान गर्न पाईने हुँदा मतदाता परिचय–पत्र लिन मतदाताहरु उत्साहित नभएको बताउनु भयो ।

यस्तै पदमलिला प्राविका मतदान अधिकृत झलकप्रसाद कोइराललाले सर्वदलीय बैठकको सहमति अनुरुप कक्षा कोठाभित्र मतदान गर्ने व्यवस्थापन मिलाइएको बताउनु भयो । ज्येष्ठ नागरिक, अपाङ्गता, गर्भवती, सुत्केरी र क्रियापुत्रीहरूका लागि लाइनमा बस्न नपर्ने गरी लाइनको व्यवस्थापन गरिएको जानकारी दिनुभयो ।

अनुगमनको क्रममा पदमलिला प्राविमा बाहेक अन्यत्र मतदान स्थलहरूमा मास्क र सेनिटाईजरको व्यवस्थापन नगरिएको पाइएको थियो । अनुगमनमा इन्सेकका प्रदेश संयोजक नारायण सुवेदी, परियोजना संयोजक किरण पौडेल, कार्यक्रम अधिकृत परिष्कृत पौडेल र फोकल पर्सन दुर्गा थापा रहेका थिए ।

SurkhetPhtot_2022-05-12 (3) SurkhetPhtot_2022-05-12 (2) SurkhetPhtot_2022-05-12 (4) SurkhetPhtot_2022-05-12 (6) SurkhetPhtot_2022-05-12 (7)


इन्सेक कर्णाली प्रदेश कार्यालय