इन्टरनेट तथा टेलीफोन सेवा प्रभावकारी नहुँदा स्थानीयहरु सञ्चार सुविधाबाट वञ्चित
जिल्लाका पाँच ओटा स्थानीय तहका नागरिकहरुले अहिले पनि सहज रुपमा सञ्चार सेवा पाउन नसकेको अवस्था छ । साइपाल गाउँपालिका, तलकोट गाउँपालिका, केदारस्युँ गाउँपालिका, बित्थडचिर गाउँपालिका र बुंगल नगरपालिकाका अधिकांश गाउँमा अहिले पनि टेलीफोन गर्न घण्टौं हिँड्नु पर्ने बाध्यता छ ।
चीनको तिब्बतसँग जोडिएको दुर्गम साइपाल गाउँपालिकामा पाँच वर्षअघि नेपाल टेलिकमको टावर सञ्चालनमा आए पनि सबै गाउँ सञ्चार सेवामा जोडिन सकेका छैनन् ।
साइपाल गाउँपालिका वडा नम्बर ४ र ५ अन्तर्गतका धुली, न्युना, बलौडीलगायत गाउँमा अहिले पनि टेलिफोनको टावर नटिप्ने भएकोले आफन्तहरुसँग सम्पर्क गर्न घण्टौँ हिडेर टेलीफोन टावरले टिप्ने स्थानमा जानु पर्ने बाध्यता रहेको स्थानीय प्रेम लामाले गुनासो गर्नुृ भयो ।
उहाँले भन्नुभयो– ‘गाउँपालिकामा टावर बन्यो । सबैलाई सुविधा भयो भन्ने परेको छ । तर, हामीले अहिले पनि राम्रोसँग कुरा गर्न डेढ / दुई घण्टा हिँडेर डाँडा चहार्नु परिरहेको छ । टावर बनेपछि केही सहज त भएको छ । तर, चाहिएका बेला फोन नलाग्ने समस्या उस्तै छ ।’
धुलिका स्थानीय बसन्त बोहराले बादल लागेको बेला र हिउँ परेका बेला टावरले काम नगर्ने भएकोल केही आपतविपत पर्यो भने दिनभर हिँडेर डाँडाकाँडा धाउनु पर्ने बाध्यता रहेको गुनासो गर्नु भयो ।
साइपालसँग जोडिएको तलकोट गाउँपालिकाका दाँतोला, किदन्न, बढीगाउँलगायत गाउँको अवस्था पनि यस्तै छ । घाम लागेका बेला मात्रै टेलीफोन टावर तथा मोबायल नेटवर्कले काम गर्ने र अरू बेला सम्पर्कविहीन हुनुपर्ने बाध्यता स्थानीयको छ ।
टेलिफोन र इन्टरनेट सेवा ठीक नभएका कारण गाउँपालिकाले दिने सेवा पनि प्रभावित हुने गरेको साइपाल गाउँपालिकाका सूचना प्रणाली अपरेटर (एमआईएस अपरेटर) भरत विष्टले बताउनु भयो । ‘गाउँपालिकामा छुट्टै इन्टरनेट सुविधा छैन । नेटवर्कले काम नगरेका बेला डाटा लिएर इन्टरनेट चलाउने गरेका छौं । उहाँले भन्नुभयो– ‘चाहिएका बेला डाटा नचल्दा टाँढाबाट हिँडेर आएका सेवाग्राहीले दुःख पाउने गरेका छन् ।’ इन्टरनेट सेवा नहुँदा व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा भत्तालगायतका काम पटक–पटक प्रभावित हुने गरेको छ । दुर्गम गाउँमा टेलिफोन सम्पर्क नहुँदा सूचना प्रवाहमा पनि समस्या भइरहेको छ ।’
बुंगल नगरपालिकाको हालत पनि उस्तै छ । घाम लागेका बेला मात्रै सीमित क्षेत्रमा नेटवर्कले काम गर्ने गरेको छ । वडा १ र २ को बीचमा रहेको दहचौरमा राखिएको टेलिकमको टावरले काम नगरेका कारण यी दुई वडा पाँच महिनादेखि पूर्ण रूपमा सञ्चारविहीन रहेको बुंगल नगरपालिका–२ का पूर्ववडाध्यक्ष विश्वप्रकाश जोशीले बताउनु भयो ।
‘गाउँमा केही ठूलो घटना भयो । कसैको मृत्यु भयो भने पनि बाहिर भएका आफन्तले थाँहा नपाउने अवस्था छ ।,’ उहाँले भन्नुभयो, ‘सूचना प्रविधिको युग भए पनि बुंगलका जनताले एक ठाउँबाट अर्को ठाउँ खबर पठाउनु पर्दा मान्छे पठाउनु पर्ने अवस्था छ ।’ केदारस्युँ, मस्टा, दुर्गाथली तथा छबिसपाथीभेरा गाउँपालिका र जयपृथ्वी नगरपालिकाका दुर्गम गाउँमा पनि टेलिफोनको नेटवर्कले राम्रोसँग काम नगर्ने स्थानीयहरुको गुनासो छ ।
सरकारले इन्टरनेट सेवा गाउँ–गाउँमा पुर्याउने अभियान चलाइरहेको बताइरहँदा आफूहरूले टेलिफोन गर्न पनि घण्टौं हिँड्नु पर्ने बाध्यता रहेको जनप्रतिनिधिको गुनासो छ । ‘गाउँ–गाउँमा फाइबर इन्टरनेट पुर्याउने सरकारको नीति एकातिर छ । एक कल फोन गर्न पनि नपाउने हाम्रो बाध्यता अर्कोतिर छ ।,’ स्थानीय तहमा थप टावर निर्माणका लागि जिल्लादेखि केन्द्रसम्म पहल गर्दा पनि सफल हुन नसकेको अवस्था सुनाउँदै साइपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहराले भन्नुभयो, ‘सूचना प्रविधिको युगमा पनि एक ठाउँबाट अर्को ठाउँमा खबर पुर्याउन मान्छे नै पठाउनु पर्ने बाध्यता छ ।’
नेपाल टेलिकमका प्रवक्ता हरि ढकालले सरकारको नीति अनुसार टेलिकमले सबै गाउँमा सञ्चार सुविधा पुर्याउन काम गरिरहेको तर कतिपय बस्ती बिभिन्न कारणले अझै सम्पर्क सञ्जालमा नजोडिएका कारण स्थानीयहरुलाई समस्या भएको बताउनु भयो ।
सत्यराज सिंह
सम्बन्धित समाचारहरू
क्षतिग्रस्त पुलको मर्मत नहुँदा दुई जिल्लाका स्थानीयलाई सास्ती, विद्यार्थीको पठनपाठन प्रभावित
अछाम र दैलेख जिल्ला जोडने कर्णाली नदीमा निर्माण गरिएकोे पुरानो झोलुङ्गे पुलमा खच्चडहरु गइरहेको बेलामा ६ महिनाअघि लठ्ठा चुडिँयो । पुल निर्माणको बहस स्थानीयदेखि संसदसम्मै पुग्यो । तर, जेठमा लठ्ठा…
विद्यालयमा डेस्क बेन्च र शौचालयको अभाव हुँदा पठन पाठनमा समस्या
जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थास्थित श्री गायत्री प्रज्ञापिठ गुरुकुलमा भौतिक पूर्वाधारका समाग्री तथा डेस्क बेन्चको अभाव हुँदा विद्यार्थीहरू भुईमा बसेर पढ्न बाध्य भएका छन् । २०७६ सालमा स्थापना भएको श्री गायत्री प्रज्ञापिठ…
कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
सिमकोट गाउँपालिका–२ घर भई नेपाली कांग्रेस पार्टीका वडा सभापति ३६ वर्षीय गोर्ख बोहरालाई कुटपिट गरेको भन्दै सिमकोट गाउँपालिका–१ का वडा सदस्य ३८ वर्षीया पेमा लामा र सोही ठाउँकी २३ वर्षीया…
विद्यालयमा शौचालय अभाव हुँदा पठनपाठन प्रभावित
चौकुने गाउँपालिका–५, रेक्चास्थित जनकल्याण आधारभुत विद्यालयमा शौचालय र कक्षाकोठाको अभाव हुँदा पठनपाठन प्रभावित भएको छ । विद्यालयमा शौचालय नभएपछि विद्यार्थीहरू शौचालय प्रयोग गर्न घरमा जानुपर्ने बाध्यता छ । विद्यालयमा खानेपानी…
मानव अधिकार दिवसको अवसरमा कारागार अनुगमन र शैक्षिक सामग्री सहयोग
७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा तनहुँका मानव अधिकारसँग सम्बन्धित सङ्घ संस्थाको समन्वयमा मङ्सिर २५ गते तनहुँ जिल्ला कारागारको अनुगमन तथा कारागारमा अभिभावकसँग आश्रित बालबालिकालाई शैक्षिक सामग्री तथा न्यानो…