आवास निर्माणमा ढिलाई हुँदा वर्षातले आगलागी पीडितको बिचल्ली

  २४ जेठ २०८१

आगोले घर सम्पत्ति जलेपछि बेहाल बनेका आगलागी पीडित परिवारले फेरि वर्षातको पीडा खेप्नु परेको छ । गुल्मीका विभिन्न स्थानीयहरूमा आगलागीको कारण सयौँ घरगोठ जलेर नष्ट भएका छन् । उनीहरूको समयमै स्थायी आवास निर्माणको काम नहुँदा वर्षात अर्को विपद्को सामना गर्नुपर्ने पीडाले आगलागी पीडितलाई पिरोलिरहेको छ ।

अत्यधिक गर्मी र वर्षात हुँदा पालमा बस्न सक्ने अवस्था छैन । तत्काल घर बन्ने आश्वासन पाएका आगलागी पीडित अस्थायी रूपमा पाल र छिमेकीको आश्रयमा बसे । तर, डेढ महिना बित्दा पनि घर निर्माणको काम नहुँदा निकै समस्या रहेको इस्मा गाउँपालिका–४ की स्थानीय कमला अधिकारीले गुनासो गर्नुभयो ।

आगलागीले शरीरको कपडा बाहेक अधिकारीको घरगोठसहितको सम्पत्ति केही रहेन । सुरुको दुई दिन बारीको कुनामा रात काटेको परिवार केही दिनपछि छिमेकीको घरमा थिए । आगलागीपछि घर निर्माणका थुप्रै आश्वासन लिएर नेताहरू गाउँ पुगे । तर, कामले गति लिएन । अहिले दैनिक वर्षात भइरहेको छ । 'अरुकोमा कतिदिन बस्ने ? भएको घर जल्यो बन्ने घरको टुङ्गो भएन । सानी छोरीसँग वर्षातमा निकै पीडा भइरहेको छ', उहाँले भन्नुभयो । गाउँपालिकामा घर निर्माणको सम्झौता भए पनि किस्ता निकासा भएको छैन । आफूले जलेकै ठाउँमा भन्दा अर्को ठाउँमा घर बनाउने सोँच बनाएकाले घडेरी समेत खन्न नपाएको अधिकारीले उल्लेख गर्नुभयो ।

स्थानीयले सबै घरहरू ठेक्कामा बनाउन दिने माग गरेका छन् । सोही गाउँकै सुरेन्द्रलाल विकको पनि फेन्सी र किराना पसलसहितको घर जलेको थियो । उहाँले डेढ महिनामा दुई घरमा अस्थायी बसोबासको व्यावस्थापन गर्नुपर्‍यो । घडेरी खनेका दुई महिना पुग्न थालेपनि घर निर्माणको काम अगाडि बढेन । अपाङ्ग शरीर आगोले बेशाहारा बनाउँदा ७२ वर्षीय टीकाबहादुर रायमाझीले पालमै कैयौँ कष्टपूर्ण दिन कटाउनुपर्‍यो । तर, ओत लाग्ने घरको आशमा दुई महिना बित्दा पनि केही उपलब्धी नहुँदा उनीहरू समस्यामा परेका हुन् । ०८१ वैशाख ८ गते जङ्गलको आगो बस्तीमा पसेपछि इस्मा गाउँपालिका–२, ३, ४ र ६ मा गरेर २६ घरगोठ जलेका थिए ।

इस्मा गाउँपालिकामा आगलागीबाट १ सय ९९ जना प्रभावित भएका छन् । प्रारम्भिक चरणको राहत र उद्धारको कामपछि स्थानीय व्यावस्थापनको लागि घर निर्माणको सम्झौता स्थानीय तहले गरेको छ । वैशाख १२ गते बसेको इस्मा गाउँकार्यपालिकाको बैठकले पूर्ण रूपमा घर जलेका परिवारलाई तत्काल स्थानीय तहले १ लाख रुपियाँ दिने र तीनै तहका सरकारसँग साझेदारी मार्फत ४ लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार अहिले लाभग्राहीहरूलाई घर निर्माणको सम्झौता गरेर निर्माण कार्य अगाडि बढाइएको इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले जानकारी दिनुभयो । उहाँले आगलागीबाट प्रभावित परिवारलाई मनसुन अगावै घर निर्माण गर्न ठूलो प्रयत्न भए पनि विभिन्न प्रक्रियाको कारण केही ढिला भएको बताउनु भयो ।

गुल्मीमा आगलागीका कारण १ सय ४० घरगोठ जलेर नष्ट भएका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा ६१ घर, ७९ गोठ/बङ्गालो र १ सय ३७ पशुचौपाय जलेर नष्ट भएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार सबैभन्दा बढी क्षति इस्मा गाउँपालिकामा भएको छ । इस्मासँगै मदाने, मुसिकोट, धुर्कोट, मालिका, छत्रकोट, गुल्मीदरवार, सत्यवति लगायतका स्थानीय तहहरूमा आगलागीले घरगोठ जलेर नष्ट भएका थिए । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जिल्ला विपद् व्यावस्थापन समितिबाट लाभग्राही कायम गरेर प्रदेश र केन्द्रमा सिफारिस गरिएको र स्थानीय तह मार्फत अहिले आवास निर्माणको काम अगाडि बढेको बताउनु भयो ।

इस्मा गाउँपालिकाका आगलागी पीडितको अवस्थाका विषयमा इन्सेकले तयार गरेको प्रारम्भिक स्थलगत अध्ययन प्रतिवेदन ०८१ वैशाख १८ गते सार्वजनिक गरेको थियो ।


टोपलाल अर्याल