आर्थिक अवस्था कमजोर भएका बिरामीको इन्सेककाे पहलमा काठमाडाैँमा थप उपचार सुरु

  ०८१ असार १० गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको पहलमा आर्थिक अवस्था कमजोर भएका दैलेख जिल्ला नारायण नगरपालिका–३ भैसीखोर निवासी १७ वर्षीय रविन्द्र रावतको काठमाण्डौंस्थित दिर्घायू गुरु अस्पतालमा असार ९ गतेदेखि थप उपचार भइरहेको छ ।

करिब ३६ दिनदेखि होसमा नआएका रविन्द्रको उपचारका क्रममा जिल्ला अस्पताल दैलेख, कर्णाली प्रदेश अस्पताल सुर्खेत र भारतको क्रिसेन्ट अस्पताल लखनउमा उपचार भएको थियो । आफूसँग भएको सबै रुपियाँ उपचारका क्रममा सकिएको र घरसमेत बन्धकी राखेर उपचार गराउदा पनि भाईलाई सन्चो नभएको भन्दै उनकी दिदि देवी रावतले इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतलाई थप उपचारका लागि आवश्यक पहल गरिदिन जेठ २३ गते अनुरोध गरेकी थिइन ।

इन्सेकले थप उपचारका लागि काठमाण्डौं महानगरपालिकाका मेयर बालेन शाहको सचिवालयसँग समन्वय गरी निशुल्क उपचारका लागि आवश्यक पर्ने कागजपत्र वडा कार्यालयको सिफारिस र सर्जिमिन मुचुल्का रविन्द्र रावतको घर भएको दैलेख नारायण नगरपालिका–३ नम्बर वडा कार्यालयसँग समन्वय गरी कागजपत्र तयार गरेको इन्सेकका प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिनु भएको छ ।

बुद्ध एयरको सुर्खेत, काठमाण्डौंस्थित केन्द्रिय कार्यालय र राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयसँग समन्वय गरी बिरामीलाई सुर्खेतदेखि काठमाण्डौं लैजान सहुलियत दरमा टिकटको व्यवस्था इन्सेकले मिलाएको संयोजक सुवेदीले बताउनु भयो ।

रविन्द्र रावतलाई ०८१ जेठ ३ गते सोही नपा–४ को तामेखोलामा करेन्ट लगाई माछा मार्न गएको अवस्थामा नौमुले गाउँपालिका १ का ४१ वर्षीय प्रिती थापा मगरसमेतको समूहले कुटपिट गरेपछि उनी सक्त घाइते भएका थिए । उपचारका क्रममा भारतमा करिब ३० लाख रुपियाँ खर्च भएपछि उपचारमा लाग्ने रकम तिर्न नसक्ने अवस्था आएको भन्दै बिरामीलाई पुनः उनका आफन्तले घर फर्काएका थिए । बिरामीको टाउकोमा चोट लागेको छ । बिरामी हालसम्म बोल्न सक्दैनन भने उनी बस्न र उठन पनि सक्दैनन ।

यस घटना सम्बन्धमा दैलेख जिल्ला अदालतमा जेठ २४ गते ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ । भएको रकम सबै उपचारमा सकेपछि न्यायिक प्रकृयामा समेत समस्या भएको घाइते परिवारले बताएपछि इन्सेकले कानुनी प्रकृयामा जानका लागि मानव अधिकार सहायता केन्द्रको बैठक बसी २० हजार रुपियाँ सहयोग गरेको छ ।

Photo20240625Surkhet

 


इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत