आर्थिक अवस्था अत्यन्तै न्यून परिवारलाई इन्सेकको सहयोग

आर्थिक अवस्था अत्यन्तै न्यून परिवारलाई इन्सेकले सहयोग गरेको छ । सिस्ने गाउँपालिका-५, रुमालबाडाकी ५० वर्षीया रस्मा नेपालीको परिवारको आर्थिक अवस्था अत्यन्तै न्यून छ । आफ्नो पति रन्जित नेपालीको ०६९ चैत ३ गते मृत्यु भए पश्चात घरमा आर्थिक सङ्कट परेको रस्मा बताउनुहुन्छ । उहाँकी पति नेपाली भारतमा मिस्त्रीको काम गर्नुनुहुन्थ्यो । उहाँको मृत्यु भएपछि घरको सबै जिम्मेवार आफूमा आएको उहाँ बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, 'घरमा खेती गरेर जीविकोपार्जन गर्न पर्याप्त जग्गा छैन । भएको अलिकति जग्गापनि भिरालो भागमा छ । खेतिपाति लगाउन निकै कठिन छ ।' उहाँले आफ्नो पति बित्नुभएको ११ वर्षसम्म त आफैले जसोतसो गरेर घरपरिवार चलाएको बताउनु भयो । अहिले आफ्नो स्वास्थ्यमा केही समस्या भए पश्चात आफू काम गर्न नसक्ने भएको रस्मा बताउनुहुन्छ ।

आफ्ना दुई छोराहरू मध्ये कान्छो छोराको बस दुर्घटनामा परी मृत्यु भएको र जेठो छोरा आफूसँग छुट्टिएर बसेको कारण अहिले आर्थिक बिपन्नताले गर्दा निकै कठिन भएको रस्माले इन्सेकलाई जानकारी दिनुभयो । उहाँलाई इन्सेकले आर्थिक अवस्था अत्यन्तै न्यून भएको कारण राहत स्वरुप १० हजार रुपियाँ सहयोग गरेको छ ।

आर्थिक उपार्जन गर्ने आफ्ना कान्छो छोरा नभएपछि अहिले बुढेसकालमा आफू पनि काम गर्न नसक्ने भएको कारण आर्थिक बिपन्नताले आफूहरू कठिन स्थिति भएको उहाँको भनाई छ ।

उक्त परिवारको अवस्था बारे जानकारी लिन चैत २३ गते इन्सेक लुम्बिनी प्रदेशका प्रलेख अधिकृत सोम नेपाली रस्मा नेपालीको घर पुग्दा उहाँले आर्थिक बिपन्नताले आफू र परिवार समस्यामा परेको बताउनुभएको हो ।

Photo06042024Rukum Purba


इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज