आर्थिक अभावले १२ वर्षदेखि उपचार हुन सकेको छैन दीर्घमायाको घाँटीको घाउ
लिखु तामाकोसी गाउँपालिका-६, खिम्तिकी ७० वर्षीया दीर्घमाया सुनुवारले आर्थिक अभावको कारण घाँटीमा निस्किएको घाउको १२ वर्षदेखि उपचार गराउन सक्नु भएको छैन । घाउको उपचार गराउन नसक्दा उहाँ १२ वर्षदेखि समस्यामा हुनुहुन्छ ।
दीर्घमायालाई आफ्नो जन्मथलो कहाँ भन्ने थाहा छैन । काठमाडौँकै सडकमा हुर्किनुभयो । कहिले प्लास्टिक टिप्नुभयो, कहिले बालुवा बोक्नुभयो, कहिले अर्काका भाँडा माझ्नुभयो । झण्डै ४० वर्ष पुगेपछि आफूभन्दा पाँच वर्ष कान्छो काठमाडौँमा नै मजदुरी गर्ने रामेछापको लिखुतामाकोसी गाउँपालिका-६ का लालबाहादुर सुनुवारसँग विवाह गर्नुभयो ।
विवाह गरेपछि गाउँमा आउनुभएका सुनुवार दम्पतीको आफ्नो घर जग्गा केही नभएको कारण ३० वर्षदेखि अर्काकै घरमा बसेर ज्याला मजदुरी र हाते काम गर्दै आउनुभएको छ । लालबहादुर बाँसका डोका, डाला, मान्द्रा बन्नुहुन्छ भने दीर्घमाया अर्काका बाख्रा पाठा पाल्ने, ज्याला मजदुरी गर्ने गर्नुहुन्छ । तर बिरामी भएपछि दीर्घमायाले सो काम पनि राम्रोसँग गर्न सक्नु भएको छैन । आर्थिक भावको कारण समयमा नै उपचार गर्न नसक्दा दीर्घमायाको घाँटीको टनसिल बिग्रिएर घाउ पाकेको १२ वर्ष भयो । उहाँले १२ वर्षदेखि घाँटीमा पाकेको घाउ बोकेर हिँड्नु भएको छ । ‘घाउ पाकेर बिग्रिएछ, उपचार गराउन काठमाडौँ गएँ, खर्च पुगेन, त्यतिकै फर्किएर घर आएँ, घाउ पाकिरहन्छ, पाकेर पिल्लिएपछि आफैँले सिन्कोले छेडेर निचोरेर फाल्छु’, दीर्घामायाले भन्नुभयो ।
आर्थिक अभावको कारण पत्नीको उपचार गर्न नसकेको लालबहादुर बताउनुहुन्छ । ‘आफूसँग बिहान बेलुका छाक टार्ने खर्च पनि छैन, अप्रेसन गर्न चार/पाँच लाख रुपियाँ लाग्छ भने, कहाँबाट ल्याएर उपचार गर्नु, दुःख पाएर बसेकी छिन्’, लालबहादुरले भन्नुभयो । माइतीको ठेगान नलागेको कारण दीर्घामायाले नेपाली नागरिकताको प्रमाणपत्र समेत बनाउन पाउनुभएको थिएन । अहिले नागरिकता ऐनमा संशोधन भएकोले त्यही संशोधनलाई टेकेर रामेछापकी प्रमुख जिल्ला अधिकारीले केही दिन अघि उहाँको नागरिकता जारी गर्नुभएको छ ।
नागरिकता जारी भएपछि अब उहाँलाई राज्यले सुविधा दिने बाटो खुलेको लिखु तामाकोसी गाउँपालिका-६ का वडाध्यक्ष शिवप्रसाद न्यौपाने बताउनुहुन्छ । उहाँको निःशुल्क स्वास्थ्य बिमाको प्रक्रिया अघि बढाइदिएको बताउँदै न्यौपानेले बिमा सुविधाबाट प्राप्त हुने औषधि उपचार अब उहाँले लिन सक्ने बताउनु भयो । ‘बिमाको निःशुल्क औषधि उपचार हुन्छ, साउनबाट उहाँको सामाजिक सुरक्षा भत्ता पनि आउँछ, यसले पनि केही सहयोग हुन्छ’, न्यौपानेले भन्नुभयो ।
आर्थिक अवस्था अति कमजोर भएको कारण सामान्य औषधि उपचार पनि गर्न नसक्ने अवस्था रहेको दीर्घमाया बताउनुहुन्छ । ‘अप्रेसन गर्नु अघि रोकथामको लागि महिनाको ५ सय रुपियाँको औषधि खाइरहेको छु, त्यही औषधी किन्नलाई पनि धौ धौ छ’, उहाँले भन्नुभयो । यस्तो अवस्थामा स्वास्थ्य बिमा कार्यक्रममा समावेश हुँदा पनि उहाँको घाउको उपचार सम्भव छैन । सोही घाउको कारण मुटुसम्म समस्या भएको भन्दै चिकित्सकले अप्रेसन गर्न सुझाव दिएका छन् । तर उहाँले उपचार गराउन सक्नु भएको छैन ।
नवराज घिमिरे
सम्बन्धित समाचारहरू
अज्ञात पक्षको गोली प्रहारबाट एक जना घाइते
देवानगञ्ज गाउँपालिका-३ का ४० वर्षीय शैलेश भगतमाथि अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । व्यवसायी भगतमाथि ०८१ माघ २९ गते अज्ञात पक्षले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका…
बालविवाह घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा पाल्हीनन्दन गाउँपालिका-४, कुश्माका २४ वर्षीय अमरजीत हरिजनलाई प्रहरीले ०८१ माघ ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २८ गते ललाई फकाई…
सामूहिक हत्या गरी आत्महत्या
भुमे गाउँपालिका–४ का आठ महिनाका बालक समिर बुढा र उहाँकी बज्यै ६० वर्षीया ढाँटी बुढाको हत्या आरोप लागेका भुमे गाउँपालिका–४ का ५१ वर्षीय चन्द्रसिंह पुनले आत्महत्या गरेका छन् । घरनजिकै…
बलात्कार गरेको कसुरमा १६ वर्ष ८ महिना कैद सजायको फैसला
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १७ वर्षीय बालकलाई १६ वर्ष ८ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ २९ गतेको…
ट्रमा सेन्टर सञ्चालन नगरिदा सेवाग्राहीलाई सास्ती
पाटन नगरपालिका–८ खोड्पेमा रहेको ट्रमा सेन्टर आवश्यक उपकरण र जनशक्तिको अभावका कारण पाँच वर्षदेखि सञ्चालनमा आउन सकेको छैन् । जसका कारण सुदूरपश्चिम प्रदेशका दार्चुला, बैतडी र बझाङ जिल्लाका सेवाग्राहीहरुले सास्ती…